• Tuesday 20th of October 2026

नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै सन्दीप लामिछानेले साटे खुसी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध जित हासिल गरेसँगै छैटौँ स्थानमा रहेर नेपालले ओडीआई मान्यता जोगाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसबारे औपचारिक घोषणा गर्न बाँकी रहेको उनले बताएका छन् ।

खेलपछि सोमबार आईसीसीसँग कुरा गर्दै सन्दीपले नेपाली क्रिकेटले समर्थकहरूको मुटुको धड्कन बढाउने गरेको उल्लेख गरे । उनले नेपाली क्रिकेटमा हुने उतारचढावका बाबजुद समर्थकहरूले देखाउँदै आएको माया र साथप्रति आभार व्यक्त गरे ।

‘खुसी छौँ, हामीले छैटौँ स्थानमा अन्त्य गर्दै ओडीआई मान्यता जोगाउन सकेका छौँ । तथापि, आईसीसीले घोषणा गरिसकेको छैन,’ उनले भने ।

खेलको विश्लेषण गर्दै सन्दीपले अम्पायरका केही निर्णय नेपालको पक्षमा नआएको बताए । साथै, विपक्षी टोलीका हम्माद र जतिन्दरले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई कम अवसर दिएको उनको भनाइ थियो ।

‘पिच राम्रो थियो, जसमा हामीले राम्रो योगफल बनाउन सक्यौँ । उनीहरूले ब्याटिङ गर्दा आवश्यक रन गति सातको वरपर हुँदा पनि हामीले निरन्तर दबाब बनाउन सफल भयौँ । त्यसै कारण उनीहरूले अतिरिक्त जोखिम लिए,’ सन्दीपले भने ।

उनले ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । देव, रोहित, दीपेन्द्र र बासिरले खेलको अन्त्यतिर राम्रो फिनिस गरेको उल्लेख गर्दै उनले बलिङमा पनि सबै खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए ।

नेपाली टोलीको सफलतामा समर्थकहरूको माया र आशीर्वाद महत्त्वपूर्ण रहेको कप्तान सन्दीपले बताए । उनले टोलीले यस यात्रामा धेरै आरोह–अवरोह पार गरेको स्मरण गर्दै सुरुदेखि अहिलेसम्म समर्थकहरूले देखाएको साथका लागि धन्यवाद दिए ।

‘तपाईंहरूलाई हृदयदेखि नै माया छ । यो साइकलको सुरुवातदेखि अहिलेसम्म जुन तरिकाले हामीलाई माया गर्नुभयो, त्यसका लागि धन्यवाद । हाम्रो टिमको धेरै आरोह–अवरोह हुँदा पनि तपाईंहरूको माया र आशीर्वादले गर्दा आज छैटौँ स्थानमा पुगेका छौँ,’ उनले भने ।

नेपाली क्रिकेटको आगामी यात्रा अझ रमाइलो हुने विश्वास व्यक्त गर्दै सन्दीपले सम्पूर्ण समर्थकलाई दसैँको शुभकामनासमेत दिएका छन् । ‘आगामी यात्रा अझ रमाइलो हुनेछ । सबैलाई दसैँको शुभकामना,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖