असम । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिला सहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा गोली चलेको हो । घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
घटनामा दुई महिलासहित होटलका एक कर्मचारी पनि घाइते भएका छन् । असम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार गोलीकाण्डमा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो । प्रहरीले घटनास्थलबाट हतियार बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा होटलको लिजसम्बन्धी विवाद गोलीकाण्डको कारक भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
