• Tuesday 3rd of November 2026

को हुन् हेलिकोप्टर ठोकिँदा मृत्यु र घाइते हुने विदेशी नागरिक ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोलुखुम्बुको गोरकसेप–फेरिचे उडान क्षेत्रमा फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकोप्टर एकापसमा ठोक्किँदा हताहत हुने विदेशी नागरिकको पहिचान खुलेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उपलब्ध गराएको विवरण अनुसार दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक न्युजिल्यान्डका नागरिक घाइते भएका छन्।

दुर्घटनामा परी ज्यान गुमाउनेमा भारतीय नागरिक वसन्त कुमार रहेका छन्। त्यस्तै, दुर्घटनामा गम्भीर घाइते हुनेमा न्युजिल्यान्डका नागरिक शैलेश किशन रहेका छन्।

प्राधिकरणका अनुसार यी दुवै विदेशी नागरिक दुर्घटनामा परेको फिस्टेल एयरको ९एन–एजेआर कलसाइन भएको हेलिकोप्टरमा सवार थिए। क्याप्टेन रवीन्द्र प्रजापतिले उडाइरहेको उक्त हेलिकोप्टरमा चालक दलसहित जम्मा ३ जना सवार थिए।

गोरकसेपबाट फेरिचेतर्फ उडान भर्ने क्रममा यो हेलिकोप्टर अर्को हेलिकोप्टरसँग ठोक्किएर दुर्घटनामा परेको हो।

यसैगरी, दुर्घटनामा संलग्न अर्को हेलिकोप्टर एयर डाइनेस्टीको ९एन–एओडी रहेको प्राधिकरणले जनाएको छ। क्याप्टेन प्रज्वल केसीले उडाएको उक्त हेलिकोप्टर ३०० केजी कार्गो लिएर लुक्ला–फेरिचे हुँदै कालापत्थर सेक्टरको उडानमा रहेको थियो। एयर डाइनेस्टीको हेलिकोप्टरमा भने कुनै पनि यात्रु सवार थिएनन्।

दुर्घटनालगत्तै घाइते न्युजिल्यान्डका नागरिक शैलेश किशनको उद्धार गरी उपचारका लागि पठाइएको छ भने प्राधिकरणले घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖