काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सुरक्षा सल्लाहकार पदको नियुक्तिपत्र बुझ्न अस्वीकार गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर सचिवसरह सेवा–सुविधा पाउने गरी विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो।
तर, सरकारले दिएको नयाँ जिम्मेवारी र त्यससँग जोडिएका सुविधा स्वीकार नगर्दै कार्कीले नियुक्तिपत्रसमेत नबुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिवलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका छन्। आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी र पूर्वाग्रहपूर्ण ढङ्गले पदबाट हटाइएको दाबी गर्दै उनले मन्त्रिपरिषद्को निर्णय बदरको मागसहित रिट दायर गरेका हुन्।
यसैबीच, सरकारले कार्कीलाई हटाएर नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ। केसीले दर्ज्यानी चिह्न ग्रहण गरी पदभारसमेत सम्हालिसकेका छन्।
