• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

विद्यालयमै साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित एक निजी विद्यालयका शिक्षक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।

विश्वशान्ति एकेडेमीमा दैनिक प्रशासनको जिम्मेवारीसमेत सम्हाल्दै अध्यापन गराउँदै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई गत मंगलबार पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएपछि परिवारको जिम्मा लगाइएको सिरहा प्रहरीले जनाएको छ।

पीडित परिवारले दिएको जाहेरीअनुसार आरोपी शिक्षकले कात्तिक ८ देखि १२ गतेसम्म टिफिनको समयमा बालिकालाई कार्यालयमा लगेर चकलेट दिँदै फकाउने र पटक–पटक यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। बालिकाले कात्तिक १७ गते रुँदै आफूमाथि भएको घटनाबारे बताएपछि परिवारले प्रहरीमा जाहेरी दिएको उल्लेख छ।

बालिकालाई पिसाब गर्नसमेत कठिनाइ हुन थालेपछि सुरुमा छालासम्बन्धी समस्या भएको हुन सक्ने ठानेको परिवारले जनाएको छ। विद्यालय पठाउँदा समस्या दोहोरिने र केही दिन विद्यालय नपठाउँदा सुधार हुने भएपछि अस्पताल पुर्‍याएर परीक्षण गराउँदा स्वास्थ्यकर्मीले जबर्जस्ती करणी भएको हुन सक्ने आशंका व्यक्त गरेको परिवारको भनाइ छ।

यसैबीच, आरोपी पक्राउ परेपछि विद्यालय सञ्चालकले केही राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन, दबाब तथा धम्की दिएको पीडित परिवारको गुनासो छ। परिवारले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖