• Monday 23rd of November 2026

क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले ‘७ नम्बर’ जर्सी लगाउने, युइएफएद्वारा विशेष अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलबाट हालै सन्न्यास लिएका खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा पोर्चुगलले शनिबार एक अभूतपूर्व र ऐतिहासिक बिदाइ कार्यक्रम गर्ने भएको छ । नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्ध हुने खेलअघि रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीहरूले ‘७ नम्बर’ जर्सी लगाएर मैदानमा उत्रिनेछन् ।

आधिकारिक खेलहरूमा टोलीका सबै खेलाडीले एउटै नम्बरको जर्सी लगाउन सामान्यतया नियम विपरीत मानिन्छ । तर, रोनाल्डोको योगदानलाई कदर गर्दै युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले यस विशेष सम्मानका लागि स्वीकृति प्रदान गरेको छ। ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा हुने यो खेल स्थानीय समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

४१ वर्षीय रोनाल्डोले २३ वर्ष लामो गौरवमय अन्तर्राष्ट्रिय खेलजीवनपछि गत साता मात्र सन्न्यासको घोषणा गरेका थिए। उनलाई कृतज्ञता व्यक्त गर्न पूर्व सहकर्मीहरू, पोर्चुगिज फुटबल महासंघ र समर्थकहरू सबै यस सम्मान कार्यक्रममा सहभागी हुँदैछन् ।

यो विशेष योजना बिहीबार पोर्चुगिज फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्सा, मुख्य प्रशिक्षक जोर्गे जिसस तथा टोलीका कप्तानहरू—बर्नार्डो सिल्भा, रुबेन डियास र ब्रुनो फर्नान्डेजबीच भएको छलफलपछि तय गरिएको हो। राष्ट्रिय टोलीमा रोनाल्डोले पुर्‍याएको अतुलनीय योगदानप्रति धन्यवाद ज्ञापन गर्न उनीहरूले यो अनौठो तरिका रोजेका हुन् ।

७ नम्बर जर्सीमा स्थायी परिवर्तन

शनिबारको सम्मानबाहेक पोर्चुगिज फुटबल महासंघले राष्ट्रिय टोलीको ७ नम्बर जर्सीमा अब स्थायी परिवर्तन गरिने घोषणासमेत गरेको छ। अब उप्रान्त पोर्चुगलको ७ नम्बर जर्सीमा अङ्कको बिचबाट एउटा रेखा (धर्सो) कोरिनेछ। जसले गर्दा रोनाल्डोले राष्ट्रिय टोलीमा छँदा लगाएको मूल डिजाइन सधैँका लागि उनको नामसँग मात्र अमर भएर रहनेछ ।

महासंघका अनुसार यो परिवर्तनले ७ नम्बर जर्सीको ऐतिहासिक महत्त्वलाई सधैँभरि जीवित राख्नेछ। ‘यति विशेष नम्बरको गरिमालाई अमर बनाउन र यसले हामी सबैका लागि प्रतिनिधित्व गर्ने ऐतिहासिक विरासतको सम्मान गर्न यो अर्को माध्यम हो,’ महासंघले भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖