काठमाडौं, २ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता उत्तर कोरियाली नेता किम जोङसँग भेटघाट हुन सक्ने संकेत गरेका छन्।
चीन प्रस्थान गर्नुअघि आफ्नो पहिलो कार्यकालमा किमलाई तीन पटक भेटिसकेका ट्रम्पले उत्तर कोरियाली नेतासँग पुनः भेट्ने सम्भावनालाई खुला राखेका छन्।
ट्रम्पले यस्तो टिप्पणी गरिरहँदा उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाए अनुसार किम र उनका परिवार, पार्टीका अधिकारीहरूसहित आइतबार र सोमबार चीनसँगको उत्तरी सीमा नजिकै रहेको एउटा पर्यटकीय क्षेत्रमा पुगेका थिए। उत्तर कोरियाली नेता किम जोङ उनले स्की रिसोर्टको भ्रमणका क्रममा चुरोट पिउँदै मुस्कुराएको तस्बिरहरू मंगलबार सार्वजनिक भएका छन्।
आधिकारिक ‘कोरियन सेन्ट्रल न्युज एजेन्सी’ द्वारा जारी तस्बिरहरूमा किम एउटा आरामदायी कुर्सीमा बसेर मुस्कुराइरहेको देखिन्छन्। उनको हातमा चुरोट छ र उनले घामबाट बच्ने चस्मा (सनग्लास) लगाएका छन्। उनी सम्भवतः कुनै ‘स्की रिसोर्ट’ मा छन् र उनकी पत्नी री सोल जु उनी पछाडि उभिएकी छिन्।
अर्को एउटा तस्बिरमा उनकी सानी छोरी जु ए देखिन्छिन्, जसलाई किमको उत्तराधिकारी बन्नका लागि तयार पारिँदै गरेको कुरा सोलको गुप्तचर निकायले बताएको छ। तस्बिरमा उनी सेतो पहिरन लगाएर, तर हेल्मेटबिना नै स्की गर्दै तल ओर्लिरहेको देखिन्छिन्।
सामजियोन सहर चीनको सिमाना नजिकै अवस्थित छ। यो सहर पेक्तु हिमालको नजिक पर्छ, जसलाई उत्तर कोरियालीहरू किमका पिता किम जोङ इलको पवित्र जन्मस्थल मान्छन्।
केसीएनएको रिपोर्टअनुसार स्की केन्द्र र होटलहरू सहित उक्त रिसोर्टको निरीक्षण गर्ने क्रममा किमले “धेरै सन्तुष्टि व्यक्त गरे” र भने कि “सबै संरचनाहरू अत्यन्तै सूक्ष्म र कलात्मक ढंगले निर्माण गरिएकाले साँच्चै त्रुटिरहित छन्, उनले जति धेरै हेरे, त्यति नै बढी उनले ‘जंगलभित्रको सहर’ को झल्को दिने त्यहाँको मनमोहक दृश्यप्रति प्रशंसा प्रकट गरे।”
किमले चीन नजिकै यो भ्रमण गरिरहँदा चीनको दक्षिणी सहर सेन्जेनमा ‘एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन’ शिखर सम्मेलन आयोजना भइरहेको छ। तर, विज्ञहरूका अनुसार किमको यो भ्रमणको उद्देश्य उक्त शिखर सम्मेलनमा जाने योजनाको संकेत दिनु होइन। यी दुई सहरहरूबीचको सीधा दूरी २,५०० किलोमिटर (१,५५३ माइल) भन्दा बढी छ।
कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ अनुसन्धानकर्ता होङ मिनले ताएअनुसार, “केसीएनएको रिपोर्टमा संयुक्त राज्य अमेरिकालाई लक्षित कुनै सन्देश छैन र त्यहाँ कुनै बैठकको तयारी भइरहेको संकेत पनि देखिँदैन, त्यसैले, किमको यो भ्रमणलाई यस हप्ता हुने भनिएको उत्तर कोरिया-अमेरिका भेटवार्ताको तयारीका रूपमा हेर्न गाह्रो छ ।”
ट्रम्प र किम यसअघि सन् २०१८ को जुनमा सिंगापुरमा सन् २०१९ को फेब्रुअरीमा हनोईमा र सन् २०१९ को जुनमा उत्तर कोरियास्थित असैन्यीकृत क्षेत्रमा भेटेका थिए। यी भेटवार्ताहरू त्यतिबेला भएका थिए, जब सन् २०१७ मा एक सम्बोधनका क्रममा ट्रम्पले सुरुमा किमलाई “रकेट म्यान” भनी खिल्ली उडाएका थिए।
अमेरिकी राष्ट्रपतिले अगस्ट महिनामा यस वर्षको अन्त्यतिर किमलाई भेट्ने अपेक्षा व्यक्त गरेका थिए। उनले आणविक हतियारसम्पन्न उत्तर कोरियाका नेतासँग आफ्नो पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सुदृढ गर्ने आशा राखेका छन्। “हामी किम जोङ उनलाई पनि भेट्न सक्छौं, जुन राम्रो कुरा हुनेछ,” ट्रम्पले पत्रकारहरूलाई भने। उनले किमले चीनको भ्रमण गर्ने वा नगर्ने भन्ने कुरा चिनियाँ राष्ट्रपति सी जिनपिङमा निर्भर रहने बताए।
चीनले मंगलबार जनाएअनुसार ट्रम्प र किमबीच भेट हुने वा नहुने भन्नेबारे आफूसँग “कुनै जानकारी छैन”। “यस विषयमा मसँग कुनै जानकारी छैन,” परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भने। ट्रम्प ‘एपेक’ बैठकका लागि सेन्जेन पुग्ने अपेक्षा गरिएको एक दिनअघि यो भनाइ आएको हो।
