काठमाडौं, ३ मंसिर । नासाको ‘भोयाजर १’ अन्तरिक्ष यानले बुधबार (नोभेम्बर १८) का दिन पृथ्वीबाट ‘एक प्रकाश-दिन’ काे दूरीमा पार गरेकाे छ, याे सँगै जसले यसलाई मानव-निर्मित सबैभन्दा टाढाको वस्तु बनाउनेछ।
तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि पृथ्वीबाट ‘एक प्रकाश-दिन’ को दूरी भन्नुको अर्थ वास्तवमा के हो ? कल्पना गर्नुहोस् तपाईंले एउटा शक्तिशाली टर्च बाल्नुभयो र त्यसको प्रकाशलाई रातको आकाशतर्फ सोझ्याउनुभयो। त्यो प्रकाशको किरण सौर्यमण्डलमा अगाडि बढ्दै जान्छ। चौबीस घण्टासम्म लगातार यात्रा गर्दा प्रकाशले जति दूरी तय गर्छ, त्यसलाई नै खगोलविद्हरू ‘एक प्रकाश-दिन’ भन्छन्।
‘एक प्रकाश-वर्ष’ भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। अन्तरिक्षमा प्रकाश प्रति सेकेन्ड १,८६,००० माइल (३,००,००० किलोमिटर) को गतिमा अघि बढ्छ र एक वर्षमा ५.८८ ट्रिलियन माइल (९.४६ ट्रिलियन किलोमिटर)को दूरी पार गर्छ।
‘लाइट-सेकेन्ड’ भनेको प्रकाशले घडीको एक ‘टिक’ (एक सेकेन्ड) मा पार गर्ने दूरी हो; यो पृथ्वीबाट चन्द्रमासम्मको दूरी जत्तिकै हुन्छ। ‘लाइट-मिनेट’ को दूरी पार गर्दा तपाईं सूर्यभन्दा पर पुग्नु हुन्छ। तर ‘लाइट-डे’को कुरा गर्ने हो भने ? यो लगभग १६ अर्ब माइल (वा करिब २६ अर्ब किलोमिटर) बराबर हुन्छ।
पृथ्वी सूर्यबाट करिब आठ ‘लाइट-मिनेट’ को दूरीमा छ। नासले आफ्नो एउटा ब्लगमा उल्लेख गरे अनुसार “प्रकाशको गतिमा हाम्रो सौर्यमण्डलको अन्तिम किनारासम्म अर्थात् ‘ओर्ट क्लाउड’को सबैभन्दा टाढाको भागसम्म, जहाँ निष्क्रिय धूमकेतुहरूको विशाल भण्डार अवस्थित छ, पुग्न करिब १.८७ वर्ष लाग्नेछ।”
“हाम्रो सबैभन्दा नजिकको छिमेकी तारा ‘प्रक्सिमा सेन्टाउरी’ तर्फको यात्रा जारी राख्नुहोस्; प्रकाशको गतिमा यात्रा गर्दा त्यहाँ पुग्न ४.२५ वर्ष लाग्नेछ,” नासाले थप्यो। अहिले, मानिसद्वारा निर्मित पहिलो वस्तुले यस्तै नयाँ इतिहास रच्दै छ।
सन् १९७७ मा प्रक्षेपण गरिएको ‘भोयाजर १’ अन्तरिक्ष यान पृथ्वीबाट लगभग ‘एक प्रकाश-दिन’ को दूरीमा पुगेकाे हाे । नासाका अनुसार यो यान ३८,००० माइल प्रति घण्टा (६१,१५५ किलोमिटर प्रति घण्टा) को गतिमा अघि बढिरहेको छ। नोभेम्बर १८ सम्ममा यो यान पृथ्वीबाट १६.०९ अर्ब माइल (२५.८९ अर्ब किलोमिटर) टाढा पुगेकाे छ। यो दूरी ‘एक प्रकाश-दिन’ अर्थात् प्रकाशले एक दिनमा तय गर्ने दूरी बराबर हो। मानव निर्मित कुनै पनि वस्तु अहिलेसम्म पुगेकोभन्दा यो दूरी धेरै टाढा हो।
जब नासाका इन्जिनियरहरूले यस यानमा रेडियो सङ्केत पठाउँछन्, त्यो सङ्केत यानसम्म पुग्नै पूरै एक दिन लाग्छ। अनि यदि भोयाजर १ ले कुनै सन्देश फिर्ता पठायो भने त्यसको जवाफ पाउन पृथ्वीमा थप चौबीस घण्टा कुर्नुपर्ने हुन्छ।
जेपीएलमा भोयाजर परियोजनाकी प्रबन्धक सुजान डडले हालै भनिन्, “यदि तपाईं भोयाजरलाई ‘हेलो’ भन्न चाहनुहुन्छ भने तपाईंले आफ्नो सन्देश पठाउनुहुन्छ, त्यसपछि घर जानुहुन्छ र जवाफ पाउनका लागि दुई दिनसम्म कुर्नुपर्ने हुन्छ।”
