काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। वायु प्रदूषणको मात्रा बढ्दै जाँदा राजधानीको हावा स्वास्थ्यका लागि अस्वस्थकर तहमा पुगेको हो।
वायु गुणस्तर अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८१ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ।
आईक्यूएयरको सूचीमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। लाहोरको एक्यूआई ३२७ पुगेको छ। त्यस्तै, २६१ एक्यूआईसहित बंगलादेशको राजधानी ढाका दोस्रो स्थानमा रहेको छ।
सूचीको चौथो स्थानमा भारतको दिल्ली १७७ एक्यूआईसहित रहेको छ भने पाकिस्तानको कराँची १६७ एक्यूआईसहित पाँचौँ स्थानमा छ। त्यस्तै, इजिप्टको कायरो १७० एक्यूआईसहित छैटौँ स्थानमा रहेको छ।
काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेपछि सर्वसाधारणको स्वास्थ्य जोखिमसमेत बढेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा प्रदूषित हावाको असर बढी पर्न सक्छ।
वायु प्रदूषणबाट बच्न अनावश्यक रूपमा बाहिर ननिस्कन, बाहिर निस्कनुपरे उपयुक्त मास्क प्रयोग गर्न तथा जोखिममा रहेका व्यक्तिले विशेष सावधानी अपनाउन आवश्यक छ।
