काठमाडौं । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ। अभियानले यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेको हो।
बिहीबार अभियानका प्रतिनिधिहरूले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका चुनाव चिह्न र दलीय मनोनयन प्रणाली हटाउन आवश्यक कानुन संशोधनको मस्यौदा तत्काल तयार गर्न माग गरेका छन्।
निर्वाचन आयोगले आगामी चैत ५ गते स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै अभियानले निर्वाचन हुनुअघि नै गैरदलीय निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने जनाएको छ। साथै, मंसिर ४ गते हुने सर्वदलीय बैठकमा समेत यस विषयलाई प्रमुख एजेन्डाका रूपमा समावेश गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई दलीय भागबन्डा र गुटबन्दीबाट मुक्त राख्नुपर्ने उल्लेख छ। गैरदलीय निर्वाचन प्रणालीले योग्यता, इमानदारी र सेवाभावका आधारमा नेतृत्व चयन गर्ने अवसर प्रदान गर्नुका साथै महिला तथा दलित समुदायको प्रतिनिधित्व बढाउन सहयोग पुग्ने अभियानको दाबी छ।
गैरदलीय निर्वाचन प्रणाली लागू गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १८ र २६ लगायतका प्रावधान संशोधन गर्नुपर्ने अभियानको माग छ। त्यस्तै, निर्वाचन आयोग ऐन, २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा समेत आवश्यक संशोधन गर्नुपर्ने जनाएको छ।
अभियानले संविधानले उपलब्ध गराएको थप ६ महिनाको अवधिसमेत उपयोग गरेर भए पनि गैरदलीय निर्वाचन प्रणाली सुनिश्चित भएपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेको छ।
साथै, आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्न र निर्वाचनमा महिला तथा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।
