काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्थापक महामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री निशा डाँगीको विवाह समारोहमा सहभागी हुने आश्वासन दिएका छन्।
मंगलबार ढकाल र डाँगीले बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेर विवाहको निम्तो कार्ड दिएका थिए। भेटमा लामिछानेले विवाहमा उपस्थित हुने र शुभकामना दिने बताएका ढकालले जानकारी दिए।
त्यस्तै, उनीहरूले पूर्वउपसभापति एवं सभामुख डोलप्रसाद अर्याललाई पनि भेटेर निमन्त्रणा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा व्यस्त रहेकाले स्वदेश फर्किएपछि निमन्त्रणा दिने ढकालले बताएका छन्।
पार्टीको समीक्षात्मक प्रतिवेदन सार्वजनिक गरेको विषयमा विवाद भएपछि ढकाल २०८१ असारमा रास्वपाबाट निष्कासित भएका थिए। निशा डाँगी भने पार्टीमै रहेर गत महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी थिइन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका छन्। ढकाल जन्ती लिएर झापास्थित डाँगीको घर जाने कार्यक्रम रहेको छ।
