• Monday 23rd of November 2026

रास्वपा सांसदहरूको संवाद बाहिरिएपछि सामाजिक सञ्जाल तात्यो, श्रीराम न्यौपानेले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अनौपचारिक संवादको भिडियो बाहिरिएपछि सांसद श्रीराम न्यौपानेले त्यस विषयमा प्रस्टीकरण दिएका छन् ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको उक्त भिडियो र त्यसमा भएको संवाद अहिले राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा व्यापक चर्चा र बहसको विषय बनेको छ।

उक्त भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सांसद न्यौपानेले अनौपचारिक छलफलको मूल निष्कर्ष जनताले दिएको मतको कदर गर्दै परिणाम दिनुपर्ने विषयमै केन्द्रित रहेको प्रस्ट पारेका छन्। पुराना दलहरूप्रतिको असन्तुष्टिका कारण जनताले रास्वपालाई परिवर्तनका लागि अवसर दिएको उल्लेख गर्दै उनले त्यो मत र जनविश्वासलाई कामबाट प्रमाणित गर्नुपर्ने बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्। जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ।’

जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्‍याउन नसके आगामी निर्वाचनमा विगतका राजनीतिक दलहरूले जस्तै जनविश्वासको सङ्कट बेहोर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिएका छन्। अनौपचारिक संवादको मर्मबारे थप प्रस्ट पार्दै उनले भने, ‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ भन्ने थियो, यथार्थ पनि यही नै हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖