काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध बैंकिङ कसुरको अनुसन्धानका लागि अदालतबाट पक्राउ अनुमति जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै अदालतबाट पक्राउ अनुमति लिएको ब्युरोका एक अधिकृतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि कात्तिक १६ गते बानियाँका छोरा दिक्षान्त बानियाँलाई सीआईबीले पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएको प्रहरीको भनाइ छ । उनी हाल फरार रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट बानियाँका बुबा–छोरासँग सम्बन्धित कम्पनीका नाममा लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग भएको आशंका गरिएको छ ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा उक्त ऋण निकासा भएको थियो । तर, जुन प्रयोजनका लागि ऋण लिइएको थियो, सोही प्रयोजनमा रकम प्रयोग नगरी अन्य बैंक खातामा राख्ने तथा सेयरमा लगानी गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका अधिकारीले बताएका छन् ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कर्जाको रकम स्वीकृत प्रयोजनविपरीत प्रयोग गर्न पाइँदैन ।
२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँविरुद्ध पक्राउ अनुमति जारी भएसँगै प्रहरीले बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
