काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारतको राजधानी नयाँदिल्ली पुगेको छ ।
दुई दिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलबाहिर विशेष सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित ३५ जना सहभागी छन् ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम रहेको छ । सोही होटलमा आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने तालिका रहेको छ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा आपसी हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।
