काठमाडौँ, ७ मंसिर । प्रसिद्ध बेलायती पौडीबाज लुइस प्युले युद्ध चलिरहेकै बेला होर्मुज जलडमरुमा पौडी खेले। उनले तीन दिनमा करिब १५ किलोमिटर दूरी पार गरे। पौडी खेल्ने क्रममा उनले तेल बोक्ने ट्याङ्कर र अन्य जहाजहरूमाथि आक्रमण भइरहेको देखे।
५६ वर्षीय प्यु संयुक्त राष्ट्रसङ्घका महासागर संरक्षणसम्बन्धी विशेष प्रतिनिधि हुन्। युद्धका कारण समुद्री जीव र वातावरणमा पुगिरहेको क्षतिप्रति विश्वको ध्यानाकर्षण गराउन उनले यो पौडी यात्रा गरेका हुन्। उनका अनुसार युद्ध समाप्त भएपछि पनि तेल र रसायनका कारण हुने प्रदूषणले कैयौँ दशकसम्म महासागरलाई हानि पुर्याइरहन सक्छ।
प्युले ओमानको मुसन्दमबाट पौडिन सुरु गरेर होर्मुजसम्मको यात्रा तय गरे। उनले यो दूरी एकैपटकमा पार गरेनन्; बरु सुरक्षाका कारण उनले तीन दिन लगाएर विभिन्न खण्डमा पौडिए। उनी जम्मा साढे ६ घण्टा पानीमा रहे। युद्ध सुरु भएयता यस क्षेत्रमा यति लामो दूरी पौडिने उनी पहिलो व्यक्ति मानिन्छन्।
प्युले बताएअनुसार पानीमा पसेको केही मिनेटमै उनले दुईवटा ठूला विस्फोटको आवाज सुने। उनले करिब ४ किलोमिटर टाढा रहेको एउटा तेल बोक्ने ट्याङ्करलाई निशाना बनाइएको देखे। त्यसपछि त्यहाँ लडाकु विमानहरू आइपुगे। उनले तुरुन्तै पानीबाट बाहिर निस्कनुपर्ने महसुस गरे। सुरक्षाका कारण उनको टोलीले पौडिन बन्द गर्यो। पछि उनीहरूले बाँकी दूरी फरक–फरक चरणमा पूरा गरे।
भोलिपल्ट उनी बन्दरगाहतिर फर्किँदै गर्दा ग्यास बोकेको एउटा जहाजमा आक्रमण भयो। प्युका अनुसार उक्त जहाजबाट कडा रासायनिक गन्ध आइरहेको थियो र त्यसको वरिपरि आगोका लप्काहरू उठिरहेका थिए।
ती बेलायती पौडीबाजले चेतावनी दिए कि फेब्रुअरीयता यस क्षेत्रमा दर्जनौँ ट्याङ्करहरूमा क्षति पुगेको छ। यी जहाजहरूबाट तेल र रसायनहरू समुद्रमा चुहिने जोखिम छ। यसले डल्फिन, कछुवा र अन्य समुद्री जीवहरूका साथै समुद्री किनार, कोरल रीफ (मूङ्गा चट्टान) र म्यान्ग्रोभ वनहरूलाई पनि हानि पुर्याउन सक्छ। प्युका अनुसार समुद्रमा फैलिएको तेल र रसायन सफा गर्नु अत्यन्तै कठिन काम हो।
बेलायती पौडीबाज लुइस प्यु विगत ४० वर्षदेखि समुद्र र नदीहरूमा पौडी खेलेर वातावरण संरक्षणको अभियान चलाउँदै आएका छन्। उत्तरी ध्रुव (नर्थ पोल) पौडिएर पार गर्ने उनी विश्वकै पहिलो खेलाडी हुन्। उनले विश्वका सबै महासागरहरूमा लामो दूरीको पौडी पूरा गरिसकेका छन्।
यसका साथै उनले अन्टार्कटिका, लाल सागर (रेड सी) र इङ्लिस च्यानलसमेत पार गरेका छन्। सन् २०२३ मा उनले अमेरिकाको हडसन नदीको पूरै ५०७ किलोमिटर दूरी पौडिएरै पार गरेका थिए।
