• Tuesday 24th of November 2026

हनुमान बन्न सनी देओल नै किन छानिए? खुलाए निर्माताले कारण


  • धनकुटा खबर
  • .

मुम्बई, ८ मंसिर । रणवीर कपुर र साई पल्लवी अभिनित चलचित्र ‘रामायण’ले बक्स अफिसमा असाधारण प्रदर्शन जारी राखेको छ र यसको विश्वव्यापी कमाइ १७०० करोड भारुको नजिक पुगेको छ।

 

यसैबीच, चलचित्रका निर्माता नमित मल्होत्राले एक ठूलो खुलासा गरेका छन् कि ‘रामायण’को दोस्रो भागमा सनी देओल भगवान् हनुमानको भूमिकामा देखिनेछन्। भगवान् हनुमानलाई भारतीय सिनेमाका ‘आइरन म्यान’को संज्ञा दिँदै मल्होत्राले यस भूमिकाका लागि विशेष रूपमा सनी देओललाई नै किन छनोट गरियो भन्नेबारे पनि प्रस्ट पारेका छन्।

 

हालै ‘गोल्ड डर्बी’ सँगको कुराकानीमा नमित मल्होत्राले भगवान् हनुमानलाई रामायणका सबैभन्दा प्रिय पात्रहरूमध्ये एकका रूपमा वर्णन गरे र उनलाई भारतीय सिनेमाका ‘आइरन म्यान’ भनेर सम्बोधन गरे। उनले हनुमान प्रशंसकहरूका बीच निकै लोकप्रिय रहेको पनि थपे।

 

रामायणको अर्को भागका सन्दर्भमा नमित मल्होत्राले यो अझ भव्य हुने बताएका छन्। उनले भने, “अर्को चलचित्र अझ बढी शानदार हुनेछ किनकि यसमा भगवान् हनुमानको उपस्थिति रहनेछ। अगाडिको यात्रा साँच्चै रोमाञ्चक हुनेवाला छ। हामीले यो अंश पछि देखाउनका लागि साँचेर राखेका थियौँ र दर्शकहरू अब के हुन्छ भनेर जान्न निकै उत्सुक छन्।”

 

यसका साथै नमितले सनी देओलको चयनका सम्बन्धमा एउटा महत्त्वपूर्ण खुलासा गरे। ठूलो पर्दामा एकातर्फ निर्दोषपन र अर्कोतर्फ  परिस्थितिले माग गर्दा डरलाग्दो तथा भय उत्पन्न गराउने व्यक्तित्व, दुवै रूपमा प्रस्तुत हुन सक्ने सनी देओलको क्षमताबाट प्रभावित भएर नमितले आफ्नो ‘रामायण’मा हनुमानको भूमिकाका लागि उनलाई चयन गरेका हुन्।

 

नमित मल्होत्राले टिप्पणी गरे, “मैले सनी देओलका केही चलचित्रहरू हेरेको छु, जसमा उनी सुरुमा एक भलाद्मी र निर्दोष व्यक्तिको रूपमा देखिन्छन् तर पछि अचानक यस्तो योद्धामा परिणत हुन्छन् जसले पहाडसमेत पल्टाउन सक्छन्। उनी भारतका एक ‘सुपरहिरो’ हुन्, यद्यपि उनले पर्दामा कहिल्यै कुनै सुपरहिरोको भूमिका निर्वाह गरेका छैनन्। कथाको आगामी भागमा भगवान् रामका साथमा भगवान् हनुमानलाई देख्न पाउनु एक अद्भुत अनुभव हुनेछ।”

 

यहाँ उल्लेख गर्नुपर्ने कुरा के हो भने ‘रामायण’मा आधारित चलचित्रको पहिलो भागमा सनी देओल भगवान् हनुमानको भूमिकामा देखिने छैनन्; उनको प्रवेश दोस्रो भागमा हुनेछ, जुन सन् २०२८ सम्ममा प्रदर्शनमा आउन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖