• Thursday 26th of November 2026

आईपीएल अक्सनमा १० नेपाली खेलाडी, कसले पाउलान् फ्रेन्चाइजको साथ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन् । नेपालका लागि यो आफैँमा महत्त्वपूर्ण उपलब्धि हो । तर, दर्ता गराउँदैमा आईपीएल खेल्ने अवसर सुनिश्चित भने हुँदैन ।

कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएको सूचीमा ९३९ भारतीय र २८१ विदेशी खेलाडी छन् । विदेशी खेलाडीमध्ये १७ देशका खेलाडी समेटिएका छन् । एसोसिएट राष्ट्रको प्रतिनिधित्वका हिसाबले अमेरिकाका सर्वाधिक १३ खेलाडीले नाम दर्ता गराउँदा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) का समान १०–१० खेलाडी सूचीमा परेका छन् ।

अक्सनका लागि नाम दर्ता गराउने खेलाडीको संख्या ठूलो भए पनि फ्रेन्चाइज टोलीसँग खेलाडी छनोट गर्ने अवसर सीमित छ । यसपटक १० टोलीले अधिकतम ६६ खेलाडी अनुबन्ध गर्न सक्नेछन् । तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि छुट्याइएको छ । यसअघि नै टोलीहरूले १८४ खेलाडीलाई रिटेन वा अनुबन्ध गरिसकेका छन् । त्यसैले बाँकी रहेका स्थानका लागि विश्वभरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

आईपीएलमा अहिलेसम्म नेपालबाट खेल्ने एकमात्र खेलाडी सन्दीप लामिछाने हुन् । सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) ले उनलाई अनुबन्ध गरेको थियो । त्यसपछि उनले सन् २०१८ र २०१९ को आईपीएलमा दिल्लीबाट खेले ।

सन्दीपले आईपीएलमा ९ खेल खेल्दै १३ विकेट लिएका थिए । आईपीएलमा नेपाली खेलाडीको सम्भावना देखाउने पहिलो खेलाडी पनि उनी नै हुन् । नेपाली खेलाडीले पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत पनि आफ्नो क्षमता देखाउने अवसर पाएका छन् । विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर खेल्दा उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिरहेका छन् ।

आईपीएलमा विदेशी खेलाडीका लागि अवसर सीमित छ । एउटा टोलीले आफ्नो खेल्ने ११ मा बढीमा चार विदेशी खेलाडी मात्रै राख्न पाउँछ । त्यसैले विदेशी खेलाडी अनुबन्ध गर्दा टोलीले खेलाडीको व्यक्तिगत क्षमतासँगै आफ्नो टोलीमा रहेको कमजोरी र आवश्यकतालाई पनि हेर्छ ।

यसपटक अक्सनमा २८१ विदेशी खेलाडीले नाम दर्ता गराएका छन् । तर विदेशी खेलाडीका लागि उपलब्ध स्थान भने २५ मात्रै छन् । अर्थात् दर्ता भएका विदेशी खेलाडीमध्ये अधिकतम २५ जनाले मात्रै नयाँ अनुबन्धको अवसर पाउनेछन् । त्यो पनि टोलीको आवश्यकताअनुसार ।

अर्कोतर्फ नेपालजस्ता एसोसिएट राष्ट्रका खेलाडीका लागि आईपीएलमा स्थान बनाउनु अझ चुनौतीपूर्ण छ । टेस्ट राष्ट्रका अनुभवी खेलाडीसँगै विश्वका विभिन्न टी–२० लिगमा राम्रो प्रदर्शन गरेका खेलाडी पनि अक्सनमा उपलब्ध हुन्छन् ।

त्यसैले नेपाली खेलाडीले आफ्नो विशेष क्षमता देखाउनुपर्ने हुन्छ । बलरका हकमा गति, लाइन–लेन्थ, भेरिएसन र विकेट निकाल्ने क्षमता महत्त्वपूर्ण हुन्छ भने ब्याटरका लागि स्ट्राइक रेट, पावर हिटिङ र दबाबमा खेल्ने क्षमताले प्रभाव पार्छ ।

आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा आयोजना हुँदैछ । प्रारम्भिक दर्ता सूचीमा परेका सबै खेलाडी अन्तिम अक्सनमा सहभागी हुन पाउने छैनन् । फ्रेन्चाइज टोलीहरूले आफ्नो आवश्यकताअनुसार खेलाडीको नाम छनोट गरेपछि अन्तिम सूची सार्वजनिक हुनेछ ।

फ्रेन्चाइज टोलीहरूले डिसेम्बर १ सम्म आफूले अक्सनमा समावेश गर्न चाहेका खेलाडीको सूची बुझाउनुपर्नेछ । त्यसपछि डिसेम्बर ४ मा अन्तिम अक्सन सूची सार्वजनिक गर्ने तयारी छ ।

नेपालका १० खेलाडी प्रारम्भिक दर्ता सूचीमा पर्नु आफैँमा उत्साहजनक विषय हो । तर उनीहरूमध्ये कसले अन्तिम अक्सन सूचीमा स्थान बनाउँछन् र कसलाई कुनै फ्रेन्चाइज टोलीले अनुबन्ध गर्छ भन्ने विषय भने अझै प्रतीक्षाकै विषय छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖