• Thursday 26th of November 2026

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, स्वर्णिम दोस्रो र सोविता तेस्रो वरीयतामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानबमोजिम मर्यादाक्रम परिवर्तन गरिएको जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।

नयाँ मर्यादाक्रमअनुसार डा. स्वर्णिम वाग्ले दोस्रो, सोविता गौतम तेस्रो, शिशिर खनाल चौथो र विराजभक्त श्रेष्ठ पाँचौँ वरीयतामा रहेका छन् । सोविता गौतम यसअघि सातौँ वरीयतामा थिइन् ।

नयाँ जिम्मेवारीअनुसार डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय, सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला, शिशिर खनालले परराष्ट्र र विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, सुधन गुरुङलाई गृह, सुनिल लम्साललाई पूर्वाधार विकास र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् ।

यसैगरी खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपक कुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖