काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा ८ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले मंसिर १२ गते दिउँसो करिब ४ बजे चेकजाँच गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बाख्रीको मासु करिब ५६७ किलो दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले बा.५७६० नम्बरको भ्यान र बा.२० च.६३४६ नम्बरको पिकअप गाडीसमेत फेला पारेको जनाएको छ।
पक्राउ पर्नेमा दिलबहादुर मोक्तान (४०), करण बानिया (३२), मनोज थापा (५०), सनम तामाङ (२६), राजु लामा (२२), टेकबहादुर तामाङ (२७), निखिल उप्रेती (२१) र दिनेश महत (२५) रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
