• Monday 5th of October 2026

दशैं रोगको ढोका पनि, रोगबाट बच्न के गर्ने ?


  • धनकुटा खबर
  • .

दशैं उत्सवको अवसरमा गरिने अनियन्त्रित खानपिनले सधैंका लागि रोग निम्त्याउन सक्छ। सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो। आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ। मासुविनाको दशैं के दशैं भन्नेहरू पनि थुप्रै भेटिन्छन्।

तर, मासुका साथै पर्वका वेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूमपानले नसर्ने रोगको ढोका खोल्छ। अस्पतालमा पनि पर्वकै वेला बिरामीको संख्या बढ्छ। चाडबाडको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग पनि लाग्नसक्ने चिकित्सकहरूको भनाइ छ।

मुटुः अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो। मुटुमा असर बढ्दै जाँदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ। दशैं–तिहारपछि धेरैको शरीरमा ट्राइल्गिसराइड र युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला धेरै मद्यपानले मुटुको चाल अनियमित गराउने बताउँछन्। “चाडबाडका वेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू वेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ”, उनी भन्छन्। मुटुको चाल गडबडी हुँदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्ने उनको भनाइ छ।

मद्यपानले खाने नली र पेटबीचको जङ्सन च्यातिन्छ। “त्यसको असर मस्तिष्कमा पर्छ”, डा. कोइराला भन्छन्।

मिर्गाैलाः मद्यपानसँगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा असर मिर्गौलामा पर्छ। मिर्गौला कमजोर बनाउँछ, फलस्वरुप पाचन क्षमता घट्छ। मिठाईका अप्राकृतिक रंग र फ्रूट जुसमा प्रयोग गरिने रसायनले ग्याष्ट्रिक, झ्ाडाबान्ता र कलेजोमा एलर्जी हुनसक्ने वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवाल बताउँछन्। उनका अनुसार चाडपर्वकेन्द्रित खानपानले कलेजो रोगी र मिर्गौलाका बिरामी बढाउँछ। डा. अग्रवाल भन्छन्, “अत्यधिक रक्सी सेवनले शरीरमा सुगरको मात्रा घटेर बेहोश अवस्थामा आउनेहरू पनि थुप्रै छन्। ग्याष्ट्रिक हुनेहरूलाई त झ्नै समस्या हुन्छ।” मद्यपानका कारण बिरामीमा दिसा र वान्ताबाट रगत जाने समस्या पनि देखिने उनी बताउँछन्।

मधुमेहः मधुमेहका बिमारीले गुलियो र चिल्लो बार्नुपर्छ। दशैं–तिहारका खानेकुरामा यिनैको मात्रा बढी हुन्छ। मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशी यस्तो वेला मधुमेहका बिरामीले विशेष ध्यान पुर्‍याउनुपर्नेमा जोड दिन्छन्। बोसो धेरै भएको खानाले शरीरको तौल बढाउँछ। सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ। “तारेका तथा बोसोजन्य खाना हत्तपत्त खानुहुन्न”, डा. जोशीको सुझाव छ।

पेटः हरियो सलादजन्य खानेकुरा नपखाली खाँदा झाडापखालाका साथै मस्तिष्कमा संक्रमण हुनसक्छ। अरू वेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो वेला पेटका बिरामी बढ्ने वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भुपेन्द्रकुमार बस्नेत बताउँछन्। खानामा सन्तुलन नमिलाउँदा फूड पोइजनिङको समस्या पनि हुन्छ।

मनोरोगः चाडबाडको खानपानमा नियन्त्रण राख्न नसक्दा मनोरोगको सम्भावना हुन्छ। रमाइलो गर्ने नाममा अत्यधिक मद्यपान र मासुले मनोसामाजिक समस्या निम्त्याउने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विशेषज्ञ डा. सरोजप्रसाद वझ्ा बताउँछन्। उनी भन्छन्, “बढी मासु खाँदा मानिसमा उत्तेजना, रीस र र्झ्को मान्ने जस्ता समस्या देखिन्छन्।” मानसिक रोगको प्रमुख कारण शारीरिक रोग भएको तर धेरैले यसप्रति विचार नपुर्‍याएको बताउँदै उनी भन्छन्, “अत्यधिक मदिरा सेवनले एकैपटक दुई प्रकारकै समस्या निम्त्याउँछ।”

सन्तुलितः खानपानमा संयमता नै समस्याबाट बँच्ने एकमात्र उपाय हो। चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन्। माछा, मासु, मदिरा र ड्राइफूड सकेसम्म थोरै खानुपर्छ। चिल्लो मसालेदार खाना र मदिरा खाइहाले कम्तीमा तीन लीटरसम्म पानी पिउनुपर्छ।

नर्भिक इन्टरन्यासनल हस्पिटलका डायटिसियन डा. प्रणिति सिंहका अनुसार चाडबाडका वेला रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो। सिंह भन्छिन्, “जिब्रोलाई स्वादिलो लाग्ने रातो मासुमा चिल्लो र बोसोको मात्रा बढी हुन्छ। त्यसैले कोलेस्टोरेल बढाउँछ।” उनी रातो मासु खानै परे स्वस्थ व्यक्तिले एक पटकमा तासको पत्ता जति र बिरामीले बोसो तथा छाला निकालेर मात्र खान सुझ्ाव दिन्छिन्। स्वस्थ व्यक्तिले एक हप्तामा तीनदेखि चार पटकसम्म मदिरा पिउन सक्छन्। एक पटकमा पुरुषले ६० र महिलाले ३० एमएलसम्म पिए हानि गर्दैन। उनी दशैं–तिहार भन्दै दिनहुँ भतेर गर्न नहुने र घरभित्रकै पोषिलो खानेकुरामा जोड दिनुपर्ने बताउँछिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖