काठमाडौं, आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ। नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।
यस्तै नेपालले एकदिवसीय खेलमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो। औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी-२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो। टी-२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन। नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गर्दैछ।
यस्तै एसिया कपमा सहभागी टिम मध्ये नेपालका कप्तान सबैभन्दा कम उमेरका छन्। २० वर्षीय रोहितकुमार पौडेल नेपालका लागि एसिया कपमा नेतृत्व गर्ने कान्छा कप्तान हुनेछन्। पाकिस्तानविरूद्ध मैदान उत्रिएसँगै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ५०औं एकदिवसीय खेल खेल्नेछन्। सन्दीपले नेपालका लागि ४९ एकदिवसीय खेल खेल्दै १११ विकेट लिइसकेका छन्। उनी नेपालका लागि सर्वाधिक एकदिवसीय विकेट लिने बलर हुन्। नेपालले आइसिसीको चौथो स्थायी सदस्यसँग एकदिवसीय खेल खेल्न लागेको हो। यसै वर्ष नेपालले जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग एकदिवसीय खेल खेलेको थियो।
पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा हुँदै
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ।पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो। अफगानिस्तानलाई ३-० ले हराएको मैदानमा पाकिस्तानले नेपालसँग खेल्नेछ।
पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्।पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्।
बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्।
उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्।१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो।विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ।
यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ।बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ।
यस्तै स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ। एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो। त्यसअघि नेपालले दुई साता श्रीलंकामा बन्द शत्र सञ्चालन गरेको थियो।
