• Thursday 8th of October 2026

आत्महत्या गरे भनिएका हेटौंडाका बैंकर निराजन देवकोटा जिवितै रहेको दाबी, कहा छन् उनि ?


  • धनकुटा खबर
  • .

काठमाण्डौ । हेटौंडास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक बैंकर निराजन देवकोटाले आत्महत्या गरेको समाचारले केही साता नेपाली मिडिया निकै तात्यो । बैंकको उच्च व्यवस्थापनले ‘टर्चर’ दिएर उनले आत्महत्या रोजेको भन्दै कतिपयले समाचार पनि बनाए, भाइरल भए ।

उनले गरेको भनिएको ‘आत्महत्या’को विषयमा केहीले भने सुरुवातदेखि नै शंका व्यक्त गरिरहेका थिए । दशैंअघि हेटौंडामा भेटिएका उनका एक आफन्त(परिवारभित्रकै व्यक्ति, जसले नाम गोप्य राखिदिन अनुरोध गरेका छन्)को दाबीलाई मान्ने हो भने निराजन देवकोटाले आत्महत्या गरेका होइनन् वा उनी मरेका छैनन् । उनी जिवितै छन् ।

ती आफन्तकाअनुसार निराजन देवकोटा मास्टरमाइण्ड खेलाडी हुन् । उनले बैंकको र आफूले चलाएको करिब १०० करोड रुपैयाँ डूबाएपछि यसबाट उम्किन यस्तो गरेका हुनसक्छन् ।

उसो भए देवकोटा कहाँ छन् त ? ती आफन्तले दाबी गर्दै भने–‘आत्महत्या गरे भनेको दिन उनी जुत्ता लगाएर गएका थिए । तर त्रिशुली किनारमा उनको चप्पल भेटियो भनियो । घटना पहिलादेखि नै शंकास्पद थियो । किनभने निराजन आत्महत्या गर्ने खालको मान्छे होइन । ऊ एकदमै खेलाडी माइण्ड भएको मान्छे हो ।’

ती आफन्तको दाबीअनुसार देवकोटा भारतमा लुकेर बसेका हुनसक्छन् ।

के आधार उनले यस्तो दाबी गरे त ? हामीले उनैलाई प्रश्न गर्यौं । उनले भने–‘कोर परिवारको कुरा थाहा भइहाल्छ नि । यो विषय बाहिर हल्ला नगर्ने भनिएको छ । त्यसैले यो विषयमा सोध्यो भने कसैले केही भन्दैनन् । मैले दाईले भनेँ, मेरो नाम चाहिँ गोप्य राखिदिनुहोला ।’

घरमा लाग्यो ‘प्रवेश निषेध’को प्लेट
यो घटना भएको भनेर चौतर्फी समाचार आएपछि यथार्थ पत्ता लाग्ने डरले घरपरिवारकै सहमतिमा देवकोटाको हेटौडास्थित निवासमा केही परिवर्तनहरु गरिए ।

सुरुमा मुख्य गेटमा ‘अनुमतिबिना प्रवेश निषेध’ भन्ने प्लेट टाँगियो । जोपायो त्यहीलाई घरमा प्रवेश गर्न दिन छाडियो । घरभित्रको माहौल थाहा हुन्छ भनेर आफन्तहरुलाई अरुसँग यो विषयमा कुरा गर्न पनि निषेध गरियो ।

शोकको माहौल छैन
हेटौंडास्थित हाम्रा संवाददाता निराजन देवकोटाको घर भएको टोल पुगेर छरछिमेकलाई सोध्दा घरमा कुनै शोकको माहौल नभएको पाइयो । ‘मान्छे नै बितेको जस्तो शोकको माहौल छैन । परिवारका सदस्यको अनुहारमा समेत त्यस्तो देखिन्न ।’ एक छिमेकीले भने–‘हामीलाई पनि निराजनले आत्महत्या गरेको कुरामा रत्तिभर विश्वास छैन । ऊ एकदमै शातिर खेलाडी हो । नियोजित ढंगले गरिएको प्लान हुनसक्छ यो ।’

छरछिमेक र हेटौंडा बजारमा बुझ्दा समेत निराजन देवकोटाको चरित्र तथा व्यवहारको विषयमा राम्रो फिडब्याक पाइएन । उनका छिमेकीदेखि हेटौंडा बजारसम्मका जति मानिसहरुसँग हाम्रा संवाददाताले कुरा गरे र बुझे, कसैले पनि निराजन देवकोटाले आत्महत्या गरेको कुरा मान्न तयार भएनन् । ‘यो सबै नाटक हो, हामीले सुनेअनुसार निकै ठूलो रकम डूबाएपछि त्यसबाट उम्किन यस्तो गरिएको हो ।’–एक स्थानीय शिक्षकले भने ।

निराजनका बुबा नारायणप्रसाद बागमतिका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका विश्वासपात्र हुन् । उनले आफ्ना पहुँच र शक्तिको आडमा यो घटनालाई अझ अतिरञ्जित बनाइरहेका स्थानीयको दाबी छ ।

रिपोर्टिङको क्रममा भेटिएका अधिकांश स्थानीयले भने–‘धेरै मानिसको धेरै पैसा डूबाएको छ । त्यो व्यक्तिले आत्महत्या गर्यो भन्दैमा पत्याउने अवस्था छैन । यो विषयमा प्रहरीले मिहीन छानबिन गर्नुपर्छ । पैसा डूबेकाहरुले फिर्ता पाउनुपर्छ।’

के भन्छ प्रहरी ?
धादिङ प्रहरीकाअनुसार देवकोटाले त्रिशुली नदीमा हामफालेका भनिएको स्थानमा उनका एकजोर चप्पल फेला परेका छन् । बाइक पनि फेला परेको छ । तर, निराजनका आफन्तले भने उनी काठमाण्डौ जाँदा जुत्ता लगाएर हिँडेका बताएका छन् ।

आफूहरुले घटनास्थल भनिएको स्थानदेखि ५० किलोमिटर परसम्म अनुभवी गोताखोर परिचालन गरेर खोजी गर्ने काम गरे पनि केही फेला नपरेको प्रहरीको भनाई छ । छिमेकी जिल्लाका प्रहरीहरुले समेत बाँकी क्षेत्रमा खोजी गरे पनि केही फेला नपरेको धादिङ प्रहरीको भनाई छ ।

उसका अनुसार आत्महत्या नै गरेको हो भनेर पुष्टि गर्ने आधार तथा प्रमाणहरु भने अझै फेला परेका छैनन् ।

यस विषयमा देवकोटाका बुबा नारायणप्रसादको प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुनसकेन ।-बिजशाला बाट साभार

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖