धनगढी । कैलालीमा एक गाउँपालिकाका अध्यक्षले मदिराले मातेकी एक युवतीलाई अँगालो हालेको भिडियो भाइरल भएको छ ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर थारुले मदिराले मातेका बेला हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई अँगालो मारेर नाचेको भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो भिडियो गाउँपालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको पाइएको छ । ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग मस्ती गरेको भन्दै अध्यक्ष थारुको आलोचना भएको छ ।
अध्यक्षले संस्कृतिमाथि प्रहार हुनेगरी मदिरा सेवन गरेर ताण्डव देखाएको भन्दै विरोध समेत गरिएको छ । नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेर पालिका अध्यक्ष बनेका चित्रबहादुरको उक्त हर्कतले समाजमा नराम्रो सन्देश गएको टिप्पणी भएको छ । सार्वजनिक पद धारण गरेका थारुले आफ्नो पदको गरिमा नबुझेको भन्दै आलोचना भएको छ ।
गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले भने दसैंका बेलाको कार्यक्रममा समान्य रमाइलो गरेको दाबी गर्दै विपक्षीहरुले कुप्रचार गरेको दाबी गरे । ‘दसैंको बेला सबै साथी भाइ साँझको समयमा रमाइलो गरेका थियौ । त्यसैलाई विरोधीहरुले नकारात्मक प्रचार गरे,’ अध्यक्ष चौधरीले भनेका छन् ।-प्रेसपत्र
