• Thursday 8th of October 2026

प्रिन्सिपल स्वर्णकारसँगै दुईतिर प्रेममा थिइन् राधा, अर्का प्रेमीसँग मिलेर हत्या


  • धनकुटा खबर
  • .

बाराको कलैया उपमहानगरपालिका-६, मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको उनकै पूर्वप्रेमिकासमेतको संलग्नतामा हत्या भएको खुलेको छ।

प्रहरी अनुसन्धानबाट प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको हो। विवाहित स्वर्णकारको हत्या आरोपमा उनकी पूर्वप्रेमिकासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही स्कुलकी पूर्वलेखापाल राधा गुप्ता प्रिन्सिपल स्वर्णकारसँग प्रेममा थिइन्। स्वर्णकारसँगै उनी भारतीय नागरिक मनोज गुप्तासँग पनि प्रेममा रहेको खुलेको छ।

यसरी दुईतिर प्रेममा रहेकी राधासमेतको संलग्नतामा उनका प्रेमी मनोज गुप्तासहितले प्रिन्सिपल स्वर्णकारको हत्या गरेको खुलेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रिन्सिपल स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलाए पनि अन्य कारण पनि हुन सक्ने प्रहरीको अनुमान छ। अनुसन्धान अन्तिम चरणमा पुगेकाले यसबारे पत्रकार सम्मेलनमार्फत विस्तृतमा जानकारी गराइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

केही समयअघि स्वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।

त्यसपछि अर्का प्रेमी मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्।

मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर, स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो।

प्रिन्सिपल स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको पनि खुलेको छ। प्रारम्भिक बयानका क्रममा उनीहरूले गत साउनमा स्वर्णकारको हत्या प्रयास गरेको बताएका छन्। त्यतिबेला स्वर्णकारले भागेर ज्यान जोगाएका थिए।

सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते स्वर्णकारको उपचारका क्रममा मृत्यु भएको हो।

स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमर्टम गरेर अन्त्येष्टि गरिसकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖