• Thursday 8th of October 2026

नितुलाई गलत औषधि दिइएको छैन: ख्वप अस्पताल


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालले गलत औषधिका कारण बिरामीको मृत्यु नभएको स्पष्टीकरण दिएको छ।

भक्तपुर नगरपालिका वडा नं-८ निवासी २१ वर्षकी नितु दुवालको झण्डै दुई महिना अगाडि पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

सो बारे अहिले सामाजिक संजालहरुमा अस्पतालले गलत औषधि दिएका कारण उनको मृत्यु भएको भनी टिका टिप्णीहरु आइरहेका छन्। सोही कुराको स्पष्टीकरण दिँदै अस्पतालले सामाजिक संजालहरुमा भ्रम सृजना गर्न खोजिएको बताएको हो।

अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालबारे भ्रम सृजना गरिएको बताएका हुन्।

विज्ञप्ति मार्फत अस्पतालले भनेको छ, ‘शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो। मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो। नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई उपचारको क्रममा भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुँदा समेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ।’

घटना विवरण अस्पतालका अनुसार मृतक नितु दुवाल असार २२ गते पहिलो पटक डण्डिफोरको उपचारका लागि ख्वप अस्पताल आएकी थिइन्। अस्पतालले जनाए अनुसार डण्डिफोर सम्बन्धी उपचारका लागि उनलाई खाने औषधी र मलम दिइएको थियो।

छाला रोग विशेषज्ञद्वारा उनलाई २ हप्तापछि फलोअपको लागि पनि बोलाइएको थियो। श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडी टिकट भएता पनि छाला रोग विभागमा नै गई उनले चेकजाँच गराएकी थिइन।

अघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भनेकी उनले छाला रोग विशेषज्ञलाई बताएपछि डण्डिफोर सम्बन्धी औषधि यथावत् खान र जनरल डाक्टरलाई भेट्न आग्रह गरिएको थियो।

सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि औषधि दिएका थिए। यसपछि उनलाई श्रावण १२ गते यसै अस्पतालको ईमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याइएको थियो। सम्पूर्ण जाचहरु पश्चात् उनलाई भर्ना हुन अस्पतालले भनेको थियो। तर विदेश अध्ययनका लागि परीक्षा भएको कारण देखाई उनी राति ३ः३० बजे नै घर गएकी थिइन्।

अस्पतालले जनाए अनुसार निजको सो परीक्षणमा पिसाबमा खराबी देखिएको थियो। डाक्टरको सल्लाह विपरीत बिरामीलाई घर लगिएको अस्पतालले जनाएको छ। त्यसपश्चात् श्रावण १४ गते उनलाई भर्ना गराउन ल्याइएको तियो। पिसाबको परीक्षणमा कीटाणु देखिएको र सोही अनुरूप औषधिहरू चलाई वार्डमा भर्ना गरियो। श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरूको आग्रह अनुसार उनलाई घर पठाइयो।

चिकित्सकहरूद्वारा अझ केही दिन राख्नुपर्ने भनिएता पनि परीक्षाकै कारण बताई चिकित्सकको सल्लाह विपरीत उनलाई पुनः घर लगिएको अस्पतालले जनाएको छ। त्यसपश्चात् श्रावण १८ गते उनलाई यसै अस्पतालमा ल्याइएको थियो।

श्रावण २१ गते निज बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरूले अन्य अस्पताल लैजाने आग्रह गरे अनुसार अस्पतालबाट रिफर गरिएको अस्पतालले जनाएको छ। त्यसपछि अस्पताल र निजको परिवारबिचमा कुनै पनि सम्पर्क नभएको पनि अस्पतालले बतायो।

यता मृतक नितुको परिवारले भने ख्वप अस्पतालले गलत औषधि दिएका कारण उनको मृत्यु भएको बताउँदै आएको छ। सामाजिक संजालमा मार्फत कार्तिक १४ गते उनकी दिदी कविता दुवाल, माता गीता दुवाल र पिता राध्येश्याम दुवालले एक स्ट्याटस लेख्दै सो कुरा बताएका हुन्।

घटना विवरण नितुको परिवार जनले बताए अनुसार नितु अध्ययनका लागि हङकङ जाने तर्खरमा थिइन्। नितुको अनुहारमा डण्डीफोरले दुःख दिइरहेको थियो। अनुहार सफा गरेर विदेश जाने सोच बनाएकी उनले चेक जाँचका लागि ख्वप अस्पताल पुगिन्।

अस्पतालले नितुलाई बिना रगत परीक्षण नै औषधी लेखेर दिएको परिवार जनले बताएका छन्। ती औषधीले एलर्जी हुन सक्ने तर्फ कुनै सचेत नगराएको उनीहरूको आरोप छ।

केही दिनपछि उनलाई ज्वरो, खोकी लाग्न थाल्यो। उनलाई पुनः ख्वप अस्पतालमा लगियो। परिवार जनले सामाजिक संजालमा लेखेका छन् ‘पुन अस्पताल जाँदा त्यहीँ औषधी निरन्तर खान लेखियो। त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ। फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो। टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो। ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्क वाक्क हुने, ज्वरो आएर गाह्रो हुन थाल्यो। त्यसपछि साउन १४ गते बिहान ४ बजेतिर पुनः ख्वप अस्पतालको इमर्जेन्सीमा नितुलाई लिएर गएपछि तत्काल भर्ना गरियो। भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन् झन् खराब हुँदै गयो। उपचारको क्रममा ज्वरो आई रहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरू, जिउ सुनिएको, छाला रातो हुँदै गयो। औषधीको हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परीक्षण नै गरिएन। खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिई रह्यो। नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो।’

नितुको स्वास्थ्य अवस्थामा सुधार नभएपछि परिवार जनले उनलाई अन्य अस्पताल लान खोजेका थिए। तर अस्पतालले रिफर नगरिदिएको परिवार जनको आरोप छ।

हाम्रै जबरजस्ती नितुलाई साउन २१ मा बि.एण्ड.बि मा उपचारको लागि लिएर गयौँ। पछि त्यहाँबाट पनि नितुलाई पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौँ। नितुलाई निदान गरी विभिन्न विकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागे पछि र भदौ ३१ मा नितुको देहान्त भयो परिवारे भन्यो।

नितुका परिवारले उपचारमा लापरबाही गर्न डाक्टरहरूलाई कार्यबाही हुनुपर्ने बताएको छ।-कृष्ण जिसी/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖