• Thursday 8th of October 2026

कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर


  • धनकुटा खबर
  • .

विराटनगर – विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो। जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो।

अदालतका सूचना अधिकारी ओमराज सुवेदीले करणी मुद्दामा उनीहरु दोषी ठहर भएपनि सजाय निर्धारण भने हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ।

फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा कसूर कायम र सजाय निर्धारण छुट्टाछुट्टै गर्नुपर्ने कानुनी व्यवस्था छ। ‘मुद्दामा प्रतिवादी बनाइएकाहरु कसूरदार ठहर भइसकेका छन्,’ अदालतका सूचना अधिकारी सुवेदीले भने, ‘उनीहरुलाई हुने कैद सजायको टुंगो आगामी २२ गते लाग्ने छ।’

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक थिए। विराटनगरकै एउटा होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो। बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए। परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ। पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामूहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖