काठमाडाैं । योगराज ढकाल ‘रिगल’ कारागार चलान भएका छन् ।
बाँके जिल्ला अदालतले रिगललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको हाे ।
सर्वोच्च अदालतले आदेश गरेको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि रिगललाई कारागार कार्यालय नेपालगञ्ज पठाइएको अदालतले जनाएकाे छ ।
बाँके प्रहरीले रिगललाई शुक्रबार बिहान ११ बजे जिल्ला अदालतमा पेस गरेको थियो । सर्वाेच्चकाे आदेशपछि प्रहरीले उनलाई बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेकाे थियाे ।
जन्मकैद सजाय पाएका रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न बिहीबार सर्वोच्च अदालतले आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेकाे थियाे । शुक्रबार बिहान अदालतमा पेस गरेकाेमा अदालतले कैद सजाय भुक्तानका लागि जेल चलान गरेकाे हाे ।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका रिगललाई संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले कैद मिनाहा गरिदिनुभएकाे थियाे ।
त्यस विरुद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे । साे रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले कैद मिनाहाकाे निर्णय बदर गरिदिएकाे थियाे ।
