एजेन्सी – कप्तान केन विलियम्सन र रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रन बनायो ।
यो न्युजिल्यान्डको ओडिआई इतिहासको दोस्रो ठूलो योगफल हो । न्युजिल्यान्डले २००८ मा आयरल्यान्डविरुद्ध ४ सय २ रन बनाएको थियो । त्यो नै हालसम्मको उच्च योगफल हो ।
न्युजिल्यान्डका ओपनर रचिन रविन्द्रले ९४ बलमा १५ चौका र १ छक्कासहित १ सय ८ रनको सानदार शतकीय इनिङ खेले । जारी विश्वकपमा उनको यो तेस्रो शतक हो । यसअघि रविन्द्रले इंग्ल्यान्डविरुद्ध १ सय २३ र अष्ट्रेलियाविरुद्ध १ सय १६ रन बनाएका थिए ।
कप्तान केन विलियम्सन ७९ बलमा १० चौका र २ छक्कासहित ९५ रनमा आउट भए । चोटपछि फर्किएका उनी शतक बनाउन पाँच रनले चुकेका थिए । स्पिनर इफ्तिखर अहमदको बलमा विलियम्सन फखार जमानबाट क्याच आउट भएका थिए ।
दोस्रो विकेटका लागि रचिन र विलियम्सनले १ सय ४२ बलमा १ सय ८० रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर डेभन कन्वे ३९ बलमा ६ चौकासहित ३५ र डर्याल मिचेल २९ रनमा आउट भए । मार्क च्यापम्यान २७ बलमा ७ चौकासहित ३७ रन बनाउँदै आउउट भए ।
ग्लेन फिलिप्स २५ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मिचेल सान्टनार १७ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद वासिम जुनियरले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । हसन अली, इफ्तिखार अहमद र हरिस रौफले एक एक विकेट लिए । सेमिफाइनलमा स्थान बनाउन यी दुबै टोलीलाई जित्नुपर्ने दबाब छ ।
