• Thursday 8th of October 2026

बाख्रामा फेविक्वीकले अण्डकोष र पिसाबनली टाँसी खँसीको मासु भनेर बेच्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । मधेश प्रदेश प्रदेशको राजधानी जनकपुरधामस्थित खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत विहिबार बिहान ९ बजेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरस्थित गुज्लार महम्मदले सँचालन गरेको साहिल फ्रेस हाउसमा खँसीको मासु भनेर बाख्राको मासु बेचेको आरोपमा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ईन्सपेक्टरको कमाण्डमा खटिएको गस्ति टोलीले मासु पसलमा गई चेक जाँच गर्दा गुल्जार महम्मदले आफ्नो पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

गुल्जार महम्मदले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खँसीको लिँग चिप्काएर खँसीको मासु भनेर बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा प्रहरीले छापामारी गर्दा उनको काण्ड बाहिर आएको हो ।

उक्त खशीको मासु र बाख्राको मासु नाप तौल गर्दा छाला भएको खशीको मासु २१ किलो र बाख्राको मासु ८ किलो समेत बरामद गरिएको हो ।

बरामद गरेका मासु सहित उक्त पसलको संचालक गुल्जार महम्मदलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖