• Monday 5th of October 2026

मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो


  • धनकुटा खबर
  • .

मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् ।

बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् । मधुमेह भएकाले चामल र आलु खानै हुन्न भनेको पनि हामीले सुन्ने गर्छौं । तर यो सत्य नभएको थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ डा. बजरंगकुमार रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले खानपानमा क्यालोरीलाई ध्यान दिनुपर्छ, हाई क्यालोरी भएको खाना कम खानु पर्छ । त्यसैले चामल, आलु, तारेको खानेकुरा कम खानु राम्रो हुन्छ,’ उनी भन्छन् ।

सेतो चामलमा कार्बोहाइड्रेट तथा ग्लाइसेमिक सूचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । तसर्थ मधुमेहका बिरामीले कम मात्रामा चामलको भात खानुपर्छ तर खानै हुन्न भन्नु भ्रम मात्र भएको रौनियार बताउँछन् ।

‘मधुमेहका बिरामीले आलु खानु हुँदैन भन्ने पनि भ्रम रहेको छ । जबकि मधुमेहका बिरामीले आलु नै खान नहुने भन्ने हुँदैन । उचित मात्रामा तथा थोरै थोरै खाएमा आलुले पनि मधुमेहलाई खासै समस्या पार्दैन,’ उनी भन्छन्, ‘हिजोसम्म दुईवटा आलु एकैपटकमा खाइन्थ्यो भने आज पटक-पटक गरी दुईवटा आलु सेवन गर्नुपर्छ । आलु खाएको दिन भात अलि कम खानुपर्छ र क्यालोरीको मात्रा मिलाउनुपर्छ ।’

खानपानमा बढी कटौती गर्नुपर्छ ?
मधुमेह भएकाहरूले खानपानमा कटौती गर्नु राम्रो हो । खानपानमा कटौती त एउटा स्वास्थ्य व्यक्तिले पनि गर्नुपर्छ । दैनिक शरीरलाई कति क्यालोरी आवश्यक पर्छ त्यही अनुसार खायो भने त मधुमेह, उच्च रक्तचाप लगायतका अन्य रोग लाग्नबाट नै बच्न सकिने रौनियारले बताए ।

उनी भन्छन्, ‘सामान्यतया एउटा स्वास्थ मानिसलाई २४ घण्टामा १८ सयदेखि २ हजार क्यालोरी जरुरी हुन्छ । कडा परिश्रम गर्ने व्यक्तिलाई धेरै क्यालोरी जरुरी हुन सक्छ । त्यसैले क्यालोरी बढी हुने खानेकुराजस्तै तारेको भुटेको खानेकुरा, कोल्ड ड्रिक, रातो मासु एकदमै कम खाएको राम्रो हो ।’

खानपानमा कटौती गरेर मोटोपना कम गर्दा मधुमेहबाट हुन सक्ने अन्य जोखिमलाई कम गर्न सकिन्छ । त्यसैले मधुमेहको समस्या भएकाले त खाना कटौती गर्नु नै पर्छ । मधुमेह नियन्त्रणमा छैन धेरै बढेको छ भने त खानपानमा झन् बढी कटौती गर्नुपर्ने डा. रौनियार सुझाउँछन् ।

मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

‘भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५-६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ । त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ,’ रौनियार भन्छन् ।

मधुमेह हुँदा गुलियो खानेकुरा खानै हुन्न ?
मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा सुगर अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहको समस्या भएकाले बढी गुलियो प्रयोग भएको मिठाई नखानु राम्रो हुने उनी सुझाउँछन् । ‘मिठाई छुनै नहुने होइन मधुमेह नियन्त्रणमा छ भने कहिलेकाहीं एउटा मिठाई खाँदा खासै फरक पर्दैन,’ उनी भन्छन् ।

चिनीको सेवन भनेको जिब्रोको स्वाद बढाउन हो, शरीरमा यसले कुनै फाइदा गर्दैन । यसले त उल्टो शरीरमा क्यालोरी बढाउँछ, त्यसैले चिनी हालेको चिया मधुमेह भएकाहरूले सकेसम्म नखाएकै राम्रो हो । तर चिनी हालेको चिया खानै नहुने भने होइन । कहिलेकाहीं चिनी राखेका चिया एक कप खाइयो भने क्यालोरी कम भएको सलाद, तरकारी खाएर क्यालोरीलाई सन्तुलनमा राख्नुपर्ने रौनियार बताउँछन् ।

‘मधुमेह भएकाले धेरै गुलिया आँप, भुइँकटहरजस्ता फलफूल एकदमै कम खानु राम्रो हो । तर लगभग धेरै फलफूल खान मिल्छ । स्याउ, सुन्तलाजस्ता फलफूल दैनिक एउटा खान मिल्छ,’ उनी भन्छन् ।

मधुमेह हुँदा घाउ-चोट निको हुँदैन र ?
शरीरमा ब्लड सुगर नियन्त्रणमा छ भने घाउ-चोट लाग्यो भने पनि निको हुन्छ । तर शरीरमा ब्लड सुगरको मात्रा धेरै छ भने घाउ वा चोटपटक चाँडै निको हुँदैन । बरु उल्टै संक्रमणको जोखिम हुने रौनियार बताउँछन् ।

‘ब्लड सुगरले रक्तसञ्चार र रोग प्रतिरोध क्षमतामा नकारात्मक असर पार्न सक्छ । जसले गर्दा घाउ-चोट छिटो निको नहुने समस्या हुन्छ,’ उनी भन्छन् ।

मधुमेहका बिरामीलाई कुनै कारणवश शल्यक्रिया गर्नुपर्ने भएमा जटिल हुन्छ पनि भनिन्छ तर मधुमेह नियन्त्रणमा छ भने खासै जटिलता हुँदैन । मधुमेह नियन्त्रणमा छैन भने कुनै शल्यक्रिया गर्दा घाउमा संक्रमण हुने सम्भावना हुन्छ । सुगर लेबल एकदमै बढी छ भने त्यो संक्रमण शरीरमा फैलिएर अन्य स्वास्थ्य समस्या पनि निम्तन सक्ने उनी बताउँछन् ।

मधुमेहको औषधि सुरु गरेपछि आजीवन खानैपर्छ भन्ने भ्रम छ । सबै मधुमेहमा आजीवन औषधि खानुपर्ने नहुने पनि हुन सक्छ । ‘टाइप वान’ मधुमेहमा शरीरमा इन्सुलिन बन्दै बनेन भने जीवनभर इन्सुलिन दिनुपर्ने रौनियार बताउँछन् ।

खराब जीवनशैलीको कारण ‘टाइप टु मधुमेह’को समस्या छ भने जीवनशैली सुधारेर शरीरमा सुगर लेबल नियन्त्रण गर्नुपर्छ । यसपछि औषधि कम गर्ने र छोड्न समेत मिल्ने रौनियार बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖