घाँस काट्ने क्रममा लडेर घाइते भएका वरिष्ठ कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन्।
पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता उपचार पश्चात बिहीबार डिस्चार्ज भएका हुन्। पोखराको नदिपुरमा घाँस काट्ने क्रममा उनी कात्तिक १० गते लडेर घाइते भएका थिए।
उनको टाउको, छाती र ढाडमा चोट लागेको छ। घिमिरेलाई अर्को साता जाँचमा आउने गरी डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अभिषेक मास्केले जानकारी दिए।
‘बिरामीको टाउकोमा लागेको चोट सुधार भएको छ, करङ भाचिएर फोक्सोमा लागेको चोट र ढाँडमा काटेको चोट पनि निको हुँदै गएको छ,’ डाक्टर मास्केले भने, ‘बिरामीको उच्च मनोबलले पनि निको हुन मद्दत पुर्याएको छ, हामीले अर्को साता फलोअपमा आउनु भनेर डिस्चार्ज गरेका छौं।’
अस्पतालबाट राम्रो सुविधा पाएकाले आफूलाई छिटो निको भएको कलाकार घिमिरेले बताए।
उनलाई केही दिन आइसियुमा राखेर उपचार गरिएको थियो। शरीरमा लागेका चोटका कारण उनी अर्धचेत अवस्थामा थिए।
कात्तिक १० गते बिहान उनका साथी प्रेम शेरचनको घर नजिकै घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका थिए। शेरचनको घर नजिकै रहेको ब्लकको पर्खालमा समातेर डाले घाँस काट्दा पर्खालको वाल भत्किएर उनी लडेका थिए। उनी लडेर ५० मिटर तल खोँचमा खसेका थिए।
घिमिरे लडेको थाहा पाएपछि शेरचनले उद्धार गरी अस्पताल पुर्याएका थिए।
