• Friday 9th of October 2026

जापानी टोलीद्वारा झापामा धानखेती अवलोकन


  • धनकुटा खबर
  • .

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको निमन्त्रणमा आएको एक जापानी टोलीले आज धान खेतीको अवलोकन गरेको छ । अर्जुनधारामा धानको बिउँका लागि गरिएको खेतीको बुधबार जापानी टोलीले अवलोकन गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत शेयर लगानी रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था ली. ले वडा नं. ४ मा धान बीज वृद्धि कार्यक्रम अन्तर्गत गरेको खेती टोलीलाई देखाएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, सहकारीका अध्यक्ष प्रत्युस राना, स्थानीय किसानहरूले धानवारीको अवलोकन गराएका हुन् ।

जापानस्थित टोनो शहरका उपमेयर सोकी सुजुकीको नेतृत्वमा आएको टोलीलाई धानको बीज वृद्धि कार्यक्रमबारे खेतबारी मै जानकारी गराइएको थियो । टोलीलाई नगर कृषि शाखा प्रमुख एन्जिला विडारीले सहजीकरण गरेकी थिइन् । उनले सहकारी मार्फत गरिएको सामूहिक खेती बारे जानकारी दिदैं चुनौतीका सन्दर्भमा स्पष्ट बनाएकी थिइन् । उनले यहाँ अझै पनि परम्परागत खेती भइरहेको, प्राविधिक सीपको अभाव भएको जानकारी गराएकी थिइन् । उपमेयर सुजुकीले प्राविधिक सीपको बारेमा आफ्नो टोलीलाई समेत ध्यानाकर्षण गराएका थिए । नेपाली किसानलाई प्राविधिक सीपका लागि सहयोग गर्ने उनको आशय थियो ।

व्यक्तिगत उत्पादन, सामूहिक व्यवस्थापन र संस्थागत बजारीकरण गर्ने उद्देश्य सहित स्थापना भएको सहकारीले विगत वर्षदेखि विभिन्न जातको धानको बीज, गहुँ, मर्क, तोरी लगायत उत्पादन गर्दै आएको छ । अहिले ६० हेक्टरमा धानको बिउँका लागि खेती गरिएको छ ।

पहिलो वर्ष ९० टन धानको बिउँ विक्री गरिएको थियो, सहकारीका अध्यक्ष रानाले भने – यो वर्ष २ सय टन विक्री गर्ने लक्ष्य छ । उनले कृषिमा आत्मनिर्भर बनाउन कृषि, पशुपालनमा सहकारीले काम गर्दै आएको जानकारी दिए ।

यस्तै, धानवारीको अवलोकन अघि टोलीलाई नगरपालिकाको कार्यालयमा स्वागत गर्दै नगर प्रमुख, उपप्रमुख र कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । नगरपालिकामा भएको संक्षिप्त कार्यक्रममा नगरपालिकाका प्रमुख गोम्देनले औपचारिक रुपमा टोनो सिटी शहरका उपमेयर सुजुकीलाई भगिनी सम्बन्धका लागि प्रस्ताव समेत गरेका छन् ।

सोही क्रममा टोनो सिटीका मेयरसँग जुम मार्फत कुराकानी समेत भएको थियो । टोनो सिटीका मेयरले अर्जुनधारासँग ऊर्जा, वातावरण र सुशासनको क्षेत्रमा काम गर्न तयार रहेको बताएका थिए । त्यसका लागि यो भ्रमण पश्चात् कुराकानी हुने बताइएको छ ।

जापानी टोलीमा उपमेयर सोकी सुजुकीसहित विभिन्न जिम्मेवारीमा रहेका यासुहिको कुरौची, मुख्य परीक्षक, उद्योग योजना प्रभाग, टोनो शहर, इवाते प्रान्त, इमिको किकुची, मुख्य परीक्षक, वाणिज्य, उद्योग र श्रम विभाग, टोनो शहर, इवाते प्रान्त, टोमोनोरी किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार, उद्योग योजना प्रभाग, टोनो शहर, इवाते प्रान्त, कानाको होसोकावा एसिया सशक्तीकरण, आशीर्वाद त्रिपाठी, विनोद बस्नेत, रूपक मल्ल ठकुरी एम्पावरिङ एसिया सहभागी छन् ।

बिहीबार काठमाडौँ फर्किने टोलीले अर्जुनधाराको टपरी, जुस उद्योगको समेत अवलोकन गरेको छ । बुधबार साँझ नगर क्षेत्रका युवाहरूसँग टोलीले जापानको बारेमा साक्षात्कार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖