• Tuesday 6th of October 2026

जिदान एक सेकेन्ड अगाडि, मेसी तीन सेकेन्ड अगाडि !


  • धनकुटा खबर
  • .

एजेन्सी । जिनेदिन जिदान अनि लियोनल मेसी । विश्व फुटबलले देखेका दुई महान खेलाडी । यिनीहरू एकअर्काका प्रतिद्वन्द्वी बढी रहे । अझ एकअर्काविरुद्ध धेरै खेल्न पनि पाएनन् । जिदानले खेल्न छाडेको त धेरै भयो । मेसी अझै खेलिरहेका छन् ।

खास भन्ने हो भने जिदान र मेसी सँगसँगै विरलै देखिए । जति बेला जिदान रियल म्याड्रिडका खेलाडी थिए, मेसी बार्सिलोनामा खेलिरहेका थिए ।

मेसी बार्सिलोनामै छँदा जिदान रियलका प्रशिक्षक पनि भए । रियल र बार्सिलोना स्पेनका सत्रु क्लब भएपछि जिदान र मेसीको सम्बन्ध पनि कहिल्यै नजिक हुन पाएन । फेरि मेसी कुराकानी गरिरहनु पर्ने खेलाडी पनि होइनन्, सायद जिदान पनि उस्तै थिए, सक्दो कम बोल्ने । अहिले आएर प्रश्न हुन सक्छ, दुवैबीच सँगै बसेर कुराकानी भएको भए, के पो कुरा गर्थे होलान् त ?

कौतुलहता त छ नि, एडिडासले हालै मात्र यो साइत पनि जुराएको छ । दुवैबीच फुटबललाई लिएर बिहीबार राति एकआपसमा मीठो कुराकानी भएको छ । यसक्रम दुवैले एक अर्काको खुलेर प्रशंसा पनि गरे । सबैभन्दा पहिले जिदान खुले र भने, ‘हामीले सँगै एउटै टिमका लागि खेल्न पाएनौं, यो त ठीक रहेन ।’

मेसीले उत्तर फर्काए, ‘म तपाईंको खेलको खुबै प्रशंसक हुँ । तर हामीले साँच्चै सँगै एकै टिमबाट खेल्न पाएनौं । खालि हामीले एक अर्काविरुद्ध मात्र खेल्यौं, त्यो पनि एकदमै कम । पछि तपाईंसँग प्रशिक्षकका रूपमा भने भेट भयो । तपाईंले जे जस्तो गर्नु भएको थियो र गरिरहनु भएको छ, त्यसलाई म राम्रै मान्छु ।’

जिदानले मेसीलाई जादुयी खेलाडी पनि भने । उनले हाँस्दै भने, ‘मैले अरू खेलाडी भन्दा पहिले नै स्थिति बुझ्ने गर्छु, सायद एक सेकेन्ड जति अगाडि । तर तपाईं सायद तीन सेकेन्ड जति अगाडि नै स्थिति बुझ्नु हुन्छ । विश्व फुटबललाई मेसी जस्तो खेलाडी चाहिन्छ, तर यस्ता खेलाडी निकै कम हुन्छन्, हुँदै हुँदैनन् भन्दा हुन्छ ।’

कुराकानी चल्दै गर्दा डिएगो म्याराडोनाको प्रसंग आउने नै भयो । यस्तोमा मेसीले भने, ‘कोही पनि अर्जेन्टिनीका लागि १० नम्बर जर्सी भनेपछि म्याराडोना मात्रै हुन् । त्यसै म्याराडोनाको नाम मनमा आइहाल्छ । हामी सबैको इच्छा भनेको म्याराडोना जस्तै खेलाडी बन्नु हुन्थ्यो, तर कोही पनि त्यहाँसम्म पुग्न सकेनन् । सक्दैनन् पनि ।’

त्यसो भए, जिदानका लागि सबैभन्दा आदर्श खेलाडी को थिए त ? उनले धेरै सोचेनन् र फ्याट्टै उत्तर दिए, ‘इन्जो फ्रान्सेकोली’ । उनी उरुग्वेली खेलाडी हुन्, एक समय मार्सेका लागि खेल्थे । जिदानको एउटा छोराको नामै हो, इन्जो । जति बेला जिदानले पहिलो पटक तिनै इन्जोले खेलेको देखे, मनमनै भनिहाले, ‘म यस्तै खेलाडी हुन चाहन्छु ।’

पूरा कुराकानीको सार के हो भने यी दुई फुटबलकर्मीले एक अर्कालाई खुबै सम्मान गर्ने रहेछन् । जुन स्वभाविक पनि हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖