• Friday 9th of October 2026

मुगुमा यसरि गरिएको रहेछ ४ जनाको हत्या, मोबाइलको भोलुम ठूलो बनाइदिएर…


  • धनकुटा खबर
  • .

मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छायानाथ रारा गाउँपालिका-६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही ठाउँ घर भई हाल बाँके वैजनाथ गाउँपालिका बस्ने ३१ वर्षीय गोपाल बोहरा रहेका छन्।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुबैमाथि अनुसन्धान जारी भएको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले दिउँसो सार्वजनिक गर्ने बताए।

प्रहरी स्रोतका अनुसार दुबै हत्या गरिएका परिवारका नातेदार हुन्।

कात्तिक ८ गते राति करिब साढे ८-९ बजेतिर छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिने छोरा रहरको हत्या भएको थियो।

कात्तिक ८ गते दसैंको टीकाको भोलिपल्ट बेलुका माइतीबाट घर फर्केकी श्रीदेवीसहित चारै जनाको राति हत्या भएको थियो।

हत्यापछि शाही र बोहराले घरमा ताला लगाएर भागेका थिए। छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए।

श्रीदेवीको माइतमा फोन गर्दा घर फर्किसकेको बताएपछि छिमेकीले भोलिपल्ट प्रहरीलाई खबर गरेका थिए।

खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा चारै जनाको शव फेला परेको थियो।

शाही श्रीदेवीका सानोबुवा हुन्। उनी नातामा काका पनि पर्छन्। बोहरा श्रीदेवीका बुढो मावलीतर्फ नातामा देवर पर्छन्।

प्रहरी स्रोतका अनुसार दुबैले सुन र नगद लुट्ने योजनाका साथ घरभित्र छिरेका थिए।

श्रीदेवीको कानमा लगाएको गहनासहित करिब सात-आठ तोला सुन उनीहरूले लुटेको प्रहरीले जनाएको छ। उनीहरूले नगद पनि लुटेर लगेका थिए। तर, के कति नगद भन्ने खुलेको छैन।

यसरी गरेका थिए हत्या

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शाही र बोहरा सुरूमा श्रीदेवीको घर पसे।

राति नातामा पर्ने व्यक्ति घरमा आउँदा श्रीदेवीले अन्यथा मानिनन्। श्रीदेवी आफ्नो पाँच महिने छोरासँग थिइन्।

जेठा छोरा मनोज र छोरी अप्सरा अर्कै कोठामा थिए।

गोपाल बोहरा उनीहरूको कोठामा छिरे। दुबैले गोपाललाई चिनिहाले। उनीहरू मोबाइलमा गीत सुनिरहेका थिए। उनले मोबाइलको भोलुम ठूलो बनाइदिए।

गोरख श्रीदेवीकै कोठामा थिए। मोबाइलको भोलुम ठूलो बनाएपछि बोहरा श्रीदेवीकै कोठामा फर्किए।

कानको गहना, अन्य सुन र नगद लुटेपछि गोपालले श्रीदेवी र पाँच महिने छोरालाई खुकुरी हानेर मारे।

त्यसपछि गोरख र गोपाल दुबै बाहिर निस्किए।

त्यहीबेला गोपालले भने, ‘छोराछोरीले चिन्छन्, अब के गर्ने?’

‘त्यसपछि दुबै मनोज र अप्सराको हत्या गर्ने निचोडमा पुगे,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने।

गोपालको बयानअनुसार मनोज र अप्सराको हत्या गोरखले गरेका हुन्। हत्यापछि ढोकामा ताल्चा लगाएर दुबै जना भागेका थिए। दुबैले हत्या स्वीकार गरिसकेको ती अधिकृतले बताए।

‘उनीहरूले नगद कहाँ लगे, के गरे भन्ने विषयबारे सोधपुछ भइरहेको छ,’ ती अधिकृतले भने।

श्रीदेवीका श्रीमान् विगत पाँच-छ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतार जाने-आउने गरिरहेका थिए।

दसैंको बेला सामूहिक हत्या भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖