• Tuesday 6th of October 2026

रचिनले तोडे सचिन तेन्दुल्करको कीर्तिमान


  • धनकुटा खबर
  • .

एजेन्सी । न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । २३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न श्रीलंकाविरुद्धको खेलमा सचिनको कीर्तिमान तोडेका हुन् ।

त्यो खेलमा ओपनर ब्याट्सम्यान रचिनले ३४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाएका थिए । त्यो खेलपछि रचिन २५ वर्षभन्दा कम उमेरमा एकदिवसीय विश्वकपको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

यसअघि यो कीर्तिमान सचिनको नाममा थियो । सचिनले सन् १९९६ को एकदिवसीय विश्वकपमा कुल पाँच सय २३ रन बनाएका थिए । त्यतिबेला सचिनको उमेर पनि २३ वर्ष नै थियो । रचिनले भने यो विश्वकपमा हालसम्म नौ खेल खेलेर कुल पाँच सय ६५ रन बनाइसकेका छन् ।

रचिन जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि सबैभन्दा अगाडि रहेका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले हालसम्म आठ खेल खेल्दै कुल पाँच सय ५० रन बनाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका भारतीय ब्याट्सम्यान विराट कोहलीले पाँच खेलबाट पाँच सय ४३ रन बनाएका छन् भने चौथो स्थानमा आसिन अस्ट्रेलियाका डेविड वार्नरले आठ खेलबाट कुल चार सय ४६ रन जोडेका छन् । भारतका कप्तान रोहित शर्मा आठ खेलबाट चार सय ४२ रन बनाउँदै पाँचौँ स्थानमा छन् ।

रचिनले श्रीलंकाली बलर महिश थिकसनाको बलमा रन लिँदै सचिनको कीर्तिमान तोडेका थिए । जारी विश्वकपमा रचिनले हालसम्म तीन सतक र दुईवटा अर्धसतक प्रहार गरिसकेका छन् । श्रीलंकाविरुद्धको उक्त खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖