झापा । बैंकिङ कसुर मुद्दाका दुई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा तेह्रथुपम घर भइ बिर्तामोड नगरपालिका-२ बस्ने ३१ वर्षीय शम्सेर कन्दंवा र मेचीनगर नगरपालिका-१० बस्ने ३७ वर्षीया जुनु तिम्सिना रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासबाट दाेषी ठहर भएलगत्तै उनीहरु फरार भएका थिए ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालतले कन्दंवालाई ०७९-०६-०५ गते ७ दिन कैद र ७ लाख ५० हजार जरिवाना तथा ३० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलाई गरेकाे थियाे । त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेकाे थियाे ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालतले ०८०-०२-३१ गतेको फैसला अनुसार ५ दिन कैद र ५ लाख जरिवाना तथा २० हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलाई गरेकाे थियाे । त्यसपछि फरार रहेकी जुनुलाई जिल्ला प्रहरी कार्यालय झापाकाे टोली र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टाेलीले शुक्रबार नै पक्राउ गरेकाे थियाे ।
उनीहरु दुबै जनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि शुक्रबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियाे । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएकाे छ ।
