• Monday 5th of October 2026

कस्तो भयो ‘दिमाग खराब’ को सुरुवाती व्यवसाय ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल दाबी गरिएको छ । शुक्रवार मध्यम दर्शक पाएको फिल्मले शनिवार भने राम्रो पाएको छ ।

तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्मले शनिवार अधिकांश हलका राम्रो दर्शक पाएको निर्माता रौकन विक्रम कँडेलले जानकारी दिए ।

‘शनिवार बिहानी शोदेखि फिल्ममा राम्रो दर्शक देखिएको थियो’, निर्माता कँडेलले भने ‘शनिवारको दर्शक हेर्दा फिल्मले राम्रो व्यवसाय गर्ने देखिएको छ ।’ शनिवार फिल्मका कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की, कार्यकारी निर्माता सुरज बम ठकुरी र निर्देशक निश्चल बस्नेत पनि दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका हलहरूमा पुगेका थिए । फिल्मको विषयमा दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्देशक बस्नेतले बताए ।

अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’लाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले फिल्मको कथावस्तु दर्शकको रुचिमा परेको सुनाए ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकले फिल्मको अलावा आफ्नो अभिनयलाई समेत राम्रो प्रतिक्रिया दिएको बताइन् । ‘हामी शनिवार उपत्यकाका धेरै हलमा पुगेका छौँ । सवैतिर दर्शकले फिल्मको बारेमा राम्रो भनेका छन्’, अभिनेत्री खड्काले भनिन् ‘सोमबारबाट झन् दर्शक बढ्ने अपेक्षा गरिएको छ । ’

हल रिपोर्टको क्रममा पत्रकारले अभिनेत्री खड्कालाई उनको भूमिकाबारे पाएको प्रतिक्रियाका विषयमा समेत सोधेका थिए । जवाफमा अभिनेत्री खड्काले दर्शकले सिनेमाकी सचि पात्रलाई निकै माया गरेको भन्दै खुसी व्यक्त गरिन् । आफूले काम गरेका हरेक सिनेमाको चरित्रलाई दर्शकले मन पराई दिँदा आगामी दिनमा अझै चुनौती पूर्ण भूमिकामा काम गर्न हौसला मिल्ने स्वस्तिमा बताउँछिन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीता अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्टको समेत अतिथि भूमिकामा अभिनय रहेको फिल्म आकाश बरालले लेखन हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन छ ।

फिल्म काठमाडौँ भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्ज्वल पौडेलले वितरण गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖