• Friday 9th of October 2026

नेताले खरिद गरेको सुन धनगढी पुग्दा फलाम भएपछि…


  • धनकुटा खबर
  • .

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका एक विद्यार्थी नेता ठगिएका छन्।

उनले कञ्चनपुरको महेन्द्रनगरमा भारतीय नागरिकबाट खरिद गरेको सुन कैलालीको धनगढी पुगेर जाँच गर्दा फलाम भएपछि ठगिएको भन्दै प्रहरीमा समेत पुगेका थिए। भारतीय नागरिकले ती विद्यार्थी नेतालाई सुन भनेर फलाम बेच्ने योजना धनगढीमै बनाएका थिए। विद्यार्थी नेताको पसल धनगढीमा छ। सुरुमा भारतीय नागरिक विद्यार्थी नेताको पसलमा आएर करिब २५ रुपैयाँको सामान खरिद गरेर ठगिको योजना बनाएको देखिएको छ।

ती भारतीयले पहिलो दिन पसलमा आएर तिम्रो टेबुल धेरै राम्रो छ अर्को दिन आएर खरिद गर्छु भनेका थिए। पहिलो पटक आउँदा पसल सञ्चालक विद्यार्थी नेतासँग ती भारतीयले कुराकानी गर्दै सम्बन्ध स्थापित गरेको देखिन्छ। दोस्रो पटक भने ती भारतीयले आफ्नी श्रीमतीलाई पनि साथमा लिएर धनगढीको थ्रीस्टार्स बोर्डिङ स्कुल नजिक रहेको विद्यार्थी नेताको पसलमा आएका थिए।

दोस्रो पटक पसलमा आउँदा ती भारतीय दम्पतीले हामीसँग करिब आधा किलो मोती छ। तिमी सजावटका लागि राख्नु र हामीलाई भात खाने पैसा दिनु भनेर एक दाना नमुनाको रुपमा मोति दिएका थिए। ती भारतीयले मोतिको दाना दिएको विषयमा कसैलाई नभन्नु भनेर कसम नै खुवाएर भारतीय नागरिक उनको पसलबाट निस्किएका थिए।

उक्त दाना जाँच गर्दा सुन भएको पत्ता लागेको थियो। त्यसपछि ती विद्यार्थी नेतालाई विश्वास लागेर बाँकी रहेको सबै सुन किन्ने लोभ पलायो। तेस्रो भेटमा भने भारतीय नागरिक एक्लै आएर दुई सय ग्राम सुन पूरै बिक्री गर्ने र त्यसको मूल्य ५ लाख भनेका थिए। तर, पसल सञ्चालकले आफूसँग एक लाख मात्र भएको र त्यतिमै खरिद गर्न सक्ने बताएपछि अन्तिममा एक लाख २० हजारमा खरिद गर्ने सहमति भएको थियो।

यही कात्तिक २४ गते दिउँसो २ बजे ती भारतीय नागरिकले कञ्चनपुरको महेन्द्रनगर बोलाएर ती पसलेलाई बाँकी रहेको सुन बिक्री गरेका थिए। तर, महेन्द्रनगरमा उनले एक लाख २० हजार भारतीय नागरिकलाई नगद पैसा दिएर खरिद गरिएको उक्त सुन धनगढी आएर जाँच गर्दा फलाम भएपछि आफू नराम्ररी ठगिएको भन्दै विद्यार्थी नेता विचल्लीमा परेका छन्। सुन किनेको विषयमा प्रहरीमा उजुरी गर्न खोज्दा बिना बिलको सुन खरिद गरेको विषयमा खरिदकर्ता समेत दोषी हुने कानुनी व्यवस्थाले पीडित विद्यार्थी नेताले कानुनी उपचार समेत खोज्न समस्या भएको छ।-दिनेश खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖