काठमाडौं । अफ्रिकी देश गेबोनका सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन्।
सेनाका अधिकारीहरूले शनिबारको निर्वाचनको नतिजा रद्द गरेको बताएका छन्। चुनावमा राष्ट्रपति अली बोङ्गोको जित घोषणा गरिएको थियो।
निर्वाचन आयोगका अनुसार बोङ्गोले करिब दुई तिहाइ मत पाएका छन् । विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।
यो विद्रोहसँगै देशमा उनको परिवारको ५३ वर्ष लामो शासनको अन्त्य हुनेछ ।
समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उनको घरमा नजरबन्दमा राखिएको बताएको छ।
“राष्ट्रपति अली बोङ्गो घरमै नजरबन्दमा छन्,” सरकारी टिभीमा प्रसारित एक विज्ञप्तिमा भनिएको छ। उनको परिवार र डाक्टरहरू उनीसँगै छन्।
सेनाका अधिकारीहरूले गेबोनको सीमा बन्द गरिएको बताएका छन्।
राजधानी लिब्रेभिलमा बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए ।
गेबोन तेल स्रोतमा धनी देश हो।
