• Sunday 4th of October 2026

हराएको पाँच दिनसम्म फेला परेनन् सेनाका मेजर पण्डित, परिवारसँग गरेका थिए सम्पर्क


  • धनकुटा खबर
  • .

काठमाडौ । आइतवार साँझदेखि बेपत्ता डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणअन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा खटिएका सेनानी (मेजर) विमल पण्डित अझै फेला पर्न सकेका छैनन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले लगातार खोजी गरे पनि उनको अवस्था हालसम्म अज्ञात रहेको हो।

उनको खोजीमा परिचालित टोलीले एक महिलाको शव भने फेला पारेको छ। सुरूमा बेवारिसे उक्त शव मेजर पण्डितको हुन सक्ने आशंका गरिए पनि शव निकालेर हेर्दा उनी महिला भएको खुलेको थियो।

जाजरकोटकी एक महिला माथिल्लो भेरी नदी किनारमा मृत फेला परेको र परिवारले उनको सनाखत गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पर्दाफासलाई बताए।

मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट टोली परिचालित भए पनि हालसम्म फेला पर्न नसकेपछि सुरक्षाकर्मीको संख्या र खोजीको दायरा बढाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।

‘उहाँ (मेजर पण्डित) को खोजी निरन्तर भइरहेको छ। तीनवटै सुरक्षा निकायबाट खोजीका लागि सुरक्षाकर्मी खटिएका छन्,’ प्रमुुख जिल्ला अधिकारी पोख्रेलले पर्दाफाससँग भने, ‘अहिलेसम्म कुनै प्रगति भएको छैन।’

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार मेजर पण्डितको जाजरकोटसम्म खोजी भएको थियो।

यस्तै जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले मेजर पण्डितको खोजीमा सेनासहित आफूहरू फिल्डमा गएको बताए।

‘सेनाको टोली अहिले पनि साथमै हुनुन्छ। अस्ति मसहित फिल्डमा गएका थियौं,’ उनले पर्दाफाससँग भने, ‘हामी अझै उहाँको खोजी गरिरहेका छौं।’

मेजर पण्डित आफ्नो सुरक्षा गार्ड नलिई आइतवार साँझ ब्यारेकबाट निस्किएका थिए।

प्रहरीका अनुसार उनले सो दिन मोबाइल बैंकिङबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ।

सोही दिनदेखि हालसम्म उनको मोबाइलको स्वीच अफ छ।

उनी त्रिपुराबाट हराएकाले त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र, भेरी नदी किनारतिर खोजी केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖