• Sunday 4th of October 2026

७ वटा टोली गए हराएका मेजर खोज्न,भेटियो महिलाको लाश


  • धनकुटा खबर
  • .

काठमाडौ । आइतबार अपरान्हदेखि बेपत्ता नन्द बक्स गुल्म,डोल्पाका मेजर विमल पण्डितको पाँच दिन भइसक्दा कुनै अत्तोपत्तो छैन । सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला नपरेको तर महिलाको एउटा बेवारिसे लाश भने भेटिएको छ ।

‘मेजर फेला परेका छैनन् तर मेजर खोज्न गएको टोलीले महिलाको बेवारिसे लास फेला पारेको खबर आएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘माथिल्लो भेरीको किनारमा लाश हिजो बिहान फेला परेको हो । रुकुम र जाजरकोटको सीमानामा रहेको भेरीमा भेटिएको लास कसको हो भन्ने खुलेको छैन ।’

महिलाको लाश डोल्पाको त्रिपुरासुन्दरीबाट निकै टाढा फेला परेपछि सेनाले प्रहरीलाई खबर गरेर जिम्मा लगाइसकेको बुझिएको छ । आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एटीएमबाट पैसा झिकेर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो । यता प्रहरीझैँ सेनाले पनि चारै तर्फबाट खोजीकार्य तीब्र पारेको छ । डोल्पा,रुकुम,जाजरकोट, कालिकोट,जुम्लाबाट सम्भावित ठाउँमा खोजी भएको छ । नदी किनार खोज्ने क्रममा महिलाको लाश फेला परेको बताइन्छ । उनको खोजीमा सात वटा टोली ‘मुभ’ भएको छ ।

मेजर पण्डित हराएको विषयलाई घरायसी लफडासँग पनि जोडेर हेर्न थालिएको छ । तर उनका जेठानको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो, ‘ज्वाईंको घरमा कुनै समस्या छैन ।’ गृहले घरायसी विषयलाई पनि उनी बेपत्ता भएको घटनासँग जोडेर हेरेको बताइन्छ । मेजरले ब्यारेकबाट निस्केर दुनै बजारको एटीएमबाट २० हजार निकालेका थिए । झिकिएको रकम, हराएको अवस्था,घरायसी सम्बन्ध र उनको व्यक्तिगत आचरणलाई विश्लेषण गर्दै सेनाका अधिकृतहरुले पण्डित केही दिनमा भेटिने झिनो विश्वास अझै राखेका छन् ।

पण्डित आइतबार अपरान्ह साढे ४ बजे इभिनिङ वाकका लागि भन्दै ब्यारेकबाट निस्किएका थिए । त्यसअघि काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए । कुराकानीपछि भने उनको मोबाइल स्वीचअफ भएको बताइन्छ ।

मेजर पण्डितले लामो समयदेखि साइकियाट्रिकको औषधि सेवन गर्दै आएको बुझिएको छ । जिल्लास्थित कार्यालयका हाकिमहरुका अनुसार उनी मापसे पनि ‘राम्रैसँग’ गर्ने सैनिक अधिकृतमा पर्छन् ।-जनआस्था

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖