• Sunday 4th of October 2026

काठमाडौं महानगरको बेरुजु ४ अर्ब ६ करोड, ल्होत्सेदेखि काठमाडौं भ्यूटावरसम्मको असुली बाँकी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाको बेरुजु ४ अर्ब रुपैयाँ देखिएको छ । काठमाडौं महानगरपालिका, लेखा समितिको आर्थिक वर्ष (आव) २०७३/७४ देखि आव ०७८/७९ सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो । गत आवको लेखापरीक्षण हुन बाँकी छ ।

महानगरपालिकाको आन्तरिक लेखा परीक्षण विभागका प्रमुख यादव घिमिरेका अनुसार कुल बेरुजुमध्ये सबैभन्दा धेरै राजस्वतर्फ रहेको छ । घिमिरेका अनुसार यसमध्ये पनि असुल उपर गर्नु पर्ने प्रकृतिको बेरुजु धेरै छ । ‘सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेरुजु रकम असुल उपर गराउन पत्र पठाएका छौं’ समितिको निर्णयबारे जानकारी दिँदै घिमिरेले भने ।

९ आयोजनाबाट ५९ करोड ८७ लाख असुल गर्नुपर्ने

लेखा समितिको प्रतिवेदनले करार ठेक्का मार्फत उठाउनुपर्ने आन्तरिक आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरुको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नु पर्ने बेरुजु औल्याएको छ । यस्तो बेरुजु ५९ करोड ८७ लाख ६६ हजार ६४९ रुपैयाँ छ । समितिले यो रकम असुलउपर गराउन सार्वजनिक निजी साझेदारी एकाई र राजस्व विभागलाई निर्देशन दिएको छ ।

यसरी असुल गर्नु पर्ने रकममा ल्होत्से बहुउद्देश्यीय प्रालिको सम्झौता बमोजिम असुल गर्नु पर्ने १० करोड ९६ लाख ९१ हजार १४८ रुपैयाँ, सम्पत्ति कर ७ करोड ७१ लाख २७ हजार १६६ रुपैयाँ, नक्सा पास गर्दा असुल नभएको २ करोड ७७ लाख ७५ हजार ७२५ रुपैयाँ छ । इनोभेटिभ कन्सेप्ट प्रालिबाट आकाशे पुल सञ्चालन बापत सम्झौतामा उल्लेख भएको रकम ४ करोड ८९ लाख ८६ हजार ९९९ रुपैयाँ असुल गर्नु पर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

न्यू शिवम ट्रेडर्सको सम्झौताबमोजिमको ४१ लाख रुपैयाँ, जलेश्वर स्वच्छन्द विकाइ विल्डर्स प्रा लि को २ करोड ६६ लाख ६६ हजार ६६६ रुपैयाँ, काठमाडौं भ्यू टावरको ७ करोड ५२ लाख ९४ हजार ६६६ रुपैयाँ असुल हुन बाँकी छ ।

भोटाहिटी सव वेबाट १ लाख ३६ हजार २ रुपैयाँ असुल गर्नु पर्नेछ । सोलार बत्ती जडान कार्य (विके) बाट प्राप्त हुनु पर्ने ८ करोड ६१ लाख ६५ हजार १२२ रुपैयाँ, साइड वाकर्स ट्रेडर्स प्रालि ३५ लाख ३७ हजार ५ सय रुपैयाँ असुल हुन बाँकी छ ।

आम्दानी करारहरुबाट ४ करोड ४२ लाख ३० हजार २२० रुपैयाँ असुल हुन बाँकी छ । सिटी मार्केट (सुरेन्द्रप्रसाद ढकाल) बाट ७ करोड ७ लाख ३६ हजार रुपैयाँ सटर र पसल भाडावापत बाँकी रकम असुल गर्नु पर्नेछ । वीर अस्पताल अगाडिको शौचालयबाट ८६ लाख २६ हजार ६६१ रुपैयाँ, सहरी सेवा केन्द्र रत्नपार्कबाट २१ लाख ३१ हजार ७३१ रुपैयाँ, शहरी सेवा केन्द्रबाट ९७ हजार ९ सय रुपैयाँ, हिल ट्रुली युअर्स स्मार्ट पार्किङ्बाट १ करोड ७१ लाख ५३ हजार १४३ रुपैयाँ असुल गर्न बाँकी छ ।

विभाग र वडालाई असुल गर्न निर्देशन

महानगरको बेरुजु फर्छ्यौट गर्न समितिले विभाग र वडाहरुलाई निर्देशन समेत दिएको छ । समितिका संयोजक गायत्री पुडासैनीको अध्यक्षतामा ६ भदौमा बसेको बैठकले विभाग, इकाइ, सचिवालय, वडा, कर्मचारी तथा बेरुजु सम्बद्ध व्यक्ति तथा संस्थालाई नियमानुसार आफ्नो बेरुजु फर्छ्यौट गर्न गराउन निर्देशन दिने निर्णय गरेको हो ।

महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको नियमित गर्नु पर्ने बेरुजुको प्रमाण कागजात तथा पुष्ट्याइँ सहितको विवरण सम्बन्धित विभाग तथा कार्यालयबाट तयार गर्न लगाएर नगर सभाको १४ औं अधिवेशनमा फर्छ्यौटका लागि प्रस्ताव लैजाने समितिको तयारी छ । यसमा असुल उपर गर्नु पर्ने बेरुजु समयमा नै असुल उपर गरेर प्रमाण तथा विवरण लेखा समितिमा पठाउन निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖