वीरगञ्ज । बारा जिल्लाको सिम्रौनगढमा एक जना शिक्षकको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिका – ८ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पाराजुलीको शङ्कास्पद अवस्थामा मृत्यु भएको हो । पराजुलीको शव शुक्रवार साँझ सिम्रौनगढ – ९ स्थित नयाँ बजारको पूर्व पट्टी फेला परेको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार पाराजुलीको मृत्युको कारण यकिन नभए पनि अत्यधिक मदिरा सेवनको कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपि शवको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि मात्र मृत्युको यकिन कारण खुल्न डिएसपी न्यौपानेले बताए । पाराजुलीको शव हाल बारा जिल्लाको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । उनी चार महिना अघि मात्र शिक्षकका रूपमा कचोर्वा हाजिर भएका थिए । उनको पैतृक घर सिन्धुपाल्चोक जिल्ला हो ।
स्थानीयहरूले भने पाराजुलीको मृत्युको कारण सिम्रौनगढ नगरपालिका भित्र चलिरहेको राजनीति भएको बताएका छन् । जनप्रतिनिधिहरूबिच चलिरहेको द्वन्द्वका कारण सिम्रौनगढ नगरपालिकाको हालसम्म पनि नगर परिषद् बैठक बस्न सकेको छैन । जसको कारण शिक्षक लगायत कर्मचारीहरूको विगत चार महिनादेखि तलब निकासा नै भएको छैन । तलब नपाएको कारण मनोसामाजिक तनावका कारण पाराजुलीले आत्महत्या गरेको स्थानीयहरूको आरोप छ ।
नेपालीहरूको सबैभन्दा ठूलो पर्वहरू दसैँ, दीपावली र छठ समेतमा सिम्रौनगढ नगरपालिकाका कर्मचारी र शिक्षकलगायतले तलब पाएका थिएनन् । लामो समयदेखि तलब नपाएको कारण विगत ३९ दिनदेखि शिक्षक कर्मचारीहरूले नगरपालिका अगाडि धर्ना समेत दिइरहेका छन् ।
