• Monday 5th of October 2026

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’


  • धनकुटा खबर
  • .

महेन्द्रनगर (कञ्चनपुर)। बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने सांगीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन्।

सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्यांगना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन्। उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन्।

“अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहें”, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिएकी रोजीले भनिन्, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु।”

सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ।

पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत-संगीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उनको भनाइ छ।

“यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ”, उनले भनिन्, “देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ।”

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुन्। “स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो”, उनले भनिन्, “कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो।”

आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा-आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उनको भनाइ छ। विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उनको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ।

काठमाडौंको प्रसिद्धी कला समूहमा नृत्य प्रशिक्षण लिएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताउँछिन्। “अछाममा मेला-महोत्सव हुँदा त्यो बेला केटी मान्छेलाई नृत्यमा स्थान दिँदा सामाजिकरूपले पनि टीकाटिप्पणी हुन्थे”, उनले भनिन्, “अहिले त्यो साँघुरो सोचाइ हट्दै गयो।”

सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्‍याएको उनको भनाइ छ। देउडा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उनले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभाकत्व चाहिनेमा जोड दिइन्।

“साथीहरू सानैबाट सबैले इन्जिनियर, डाक्टर भन्ने म कलाकार भन्थे”, उनले भनिन्, “यो क्षेत्रमा अब व्यावसायिकरूपले पनि कला केन्द्र सञ्चालन गर्ने सोच बनाएकी छु।” उनले ‘प्यारो अछाम’, ‘तुँ गोरु लेल्लीकी’, ‘कहिले तु छाउँ हुदी’, ‘छाडी गै रानीले’ र ‘पोक पाँया मोरको’ लगायतका सुदूरपश्चिमका चर्चित देउडा गीतमा अभियन गरेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖