न्युयोर्क । अमेरिकाको एक विश्वविद्यालयमा तीन प्यालेस्टिनी विद्यार्थीलाई गोली हान्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई १० हजार अमेरिकी डलर पुरस्कार दिइने भएको छ । यो पुरस्कार मुस्लिम नागरिक अधिकारका लागि काम गर्ने अमेरिकी समूहले घोषणा गरेको हो ।
अमेरिकी(इस्लामिक सम्बन्ध काउन्सिल (सीएआईआर) ले प्रशासनलाई यो गोलीबारीको सम्भावित ‘पूर्वाग्रहको कारण’ छानबिन गर्न अपील गरेको छ। मुस्लिम विरोधी र प्यालेस्टाइन विरोधी घृणामा अभूतपूर्व वृद्धि भएको यो समूहको दाबी छ। बर्लिङ्गटन पुलिसका अनुसार हिशाम अवर्तानी, ताहसिन अहमद र किनान अब्देलहामिदलाई भर्मन्ट विश्वविद्यालयको क्याम्पस नजिकै एक व्यक्तिले गोली हानेका थिए । त्यतिबेला उनीहरू आफ्नो परिवारसँग खाना खाइरहेका थिए।
आक्रमणको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । बर्लिङ्गटनका प्रहरी प्रमुख जोन मूरले दुई जनाको अवस्था स्थिर रहेको तर एक जना भने गम्भीर घाइते भएको बताएका छन् । प्रहरीले अभियुक्तको खोजी गरिरहेको छ ।
