मुम्बई– शाहरुख खानकी छोरी सुहाना खान ‘द आर्चीज’ बाट फिल्म क्षेत्रमा पाइला राख्दै छिन् ।यो फिल्ममा सुहाना खानसंगै यहि फिल्मबाट अगस्त्य नन्दा तथा खुशी कपूरसहित वेदांग रैना, मिहिर आहूजाले पनि बलिउडमा डेब्यू गर्दैछन् । नन्दा अभिनेता अमिताभ बच्चनकी नातिनि हुन् भने खुशी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी हुन् ।
उत्साहित हुने कुरा के छ भने ‘द आर्चीज’ फिल्मबाट अभिनय डेब्यू गर्न लागेकी सुहानाले यहि फिल्मबाट गायिकाको रुपमा पनि डेब्यू गर्ने भएकी छिन् ।
सुहाना खानले ‘द आर्चीज’ को नयाँ रिलीज हुन लागेको गीत ‘जब तुम ना थे’ मा आफ्नो स्वर दिएकी छिन् ।
भर्खरै सुहानाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट शेयर गरेकी छिन्, जसमा उनले आफू गायिका भएको कुराको जानकारी दिएकी छिन् । द आर्चीजमा भेरोनिकाको भूमिका निर्वाह गरेकी सुहानाले इन्स्टाग्राममा यो गीतको एउटा स्क्रीशट शेयर गरेकी छिन् ।
उनले लेखेकी छिन् – ‘मैले मेरो पहिलो गीत गाएकी छु, ममा यति धेरै धर्य राख्नका लागि जोया अख्तर र शंकर महादेवनलाई धन्यवाद, कृपया प्रेमले सुन्नुहोस् । यो गीतमा अदिति सहगल, जावेद अख्तर, शंकर–एहसान–लोय र तेजसले पनि आवाज दिएका छन् ।
जोया अख्तरको निर्देशनमा तयार भएको यो फिल्मको कथा कमिक बुक द आर्चीजको पात्र आर्ची एन्ड्रयूज र उनका साथिहरुमा आधारित छ । टाइगर बेबी फिल्म्सद्वारा निर्मित द आर्चीज डिसेम्बर ७ मा नेटफ्लिक्समा रिलीज हुनका लागि तयार छ ।
