• Tuesday 6th of October 2026

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ, घर जान अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं। अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।

एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरु स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन्।

एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष डा. रविकान्तले कामदारको राम्रोसँग परीक्षण गरिएको र उनीहरुको रगत परीक्षण, ईसीजी र एक्स–रेको रिपोर्ट सामान्य रहेको बताए ।

उनले भने, ‘उनीहरु शारीरिक रूपमा स्वस्थ र चिकित्सकीय रूपमा स्थिर छन्, त्यसैले उनीहरूलाई घर जान अनुमति दिएका छौं।’

डा रविकान्तले उत्तराखण्डका एक मजदुरलाई भने मुटुसम्बन्धी रोग लागेको र हाल अस्पतालमा राखिएको बताए । तर, चम्पावत जिल्लाका पुष्करसिंह ऐरीको सुरुङ दुर्घटनासँग कुनै सम्बन्ध नरहेको र जन्मदेखि नै यो रोग रहेको उनले स्पष्ट पारेका छन् ।

कामदारमा एट्रियल सेप्टल डिफेक्ट (एएसडी) समस्या देखिएपछि थप अनुसन्धानका लागि डिजास्टर वार्डबाट मुटुरोग विभागमा सारिएको चिकित्सकले बताएका छन् ।

चारधाम यात्रा मार्गमा निर्माणाधीन साढे चार किलोमिटर लामो उत्तरकाशी सुरुङमार्गको केही भाग गत नोभेम्बर १२ भत्किँदा ४१ जना कामदार १७ दिनसम्म फसेका थिए ।

केन्द्र र प्रदेश सरकारका निकायले निरन्तर युद्धस्तरमा सञ्चालित उद्धार अभियानको १७ औँ दिन मंगलबार राति उनको सफल उद्धार गरिएको थियो ।सुरुङबाट बाहिर निकालेपछि सघन स्वास्थ्य परीक्षणका लागि बुधबार ऋषिकेशको एम्समा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖