• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प


  • धनकुटा खबर
  • .

व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन।

समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए। आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने सरकारको निर्णयका कारण व्यापारीले बिक्री रोकेका हुन्।

आलु–प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलका अनुसार हिजोदेखि व्यवसायीले आलु र प्याजको आपूर्ती ठप्प पारेका छन्। उनले स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यवहारिक निर्णयका कारण विक्री रोक्नुपरेको बताए।

चालू आर्थिक बर्ष ०८०/८१ को आर्थिक ऐनमा आलु र प्याजमा भ्याट लगाउने व्यवस्था छ । बजेट सार्वजनिक हुनासाथ व्यवसायीले यस्तो व्यवस्थाको विरोध गरेका थिए । त्यसपछि अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा सम्बोधन गर्दै आयातीत आलु र प्याजमा मात्रै भ्याट लगाउने गरी कार्यविधि बनाउने आश्वासन दिएका थिए। तर, पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यवसायीले सटर बन्द गर्न बाध्य भएको महासचिव गजुरेलको भनाइ छ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖