• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध


  • धनकुटा खबर
  • .

थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरूद्ध पारेका छन्।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।

सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ। बिहान १० बजेदेखि करिब १ घन्टा अवरूद्ध भएपनि अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर सरिता मगरले जानकारी दिइन्।

ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖