• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बिजुलीको तार चुँडिएर खस्यो खेत जोतिरहेका किसानमाथि


  • धनकुटा खबर
  • .

बिजुलीको तार चुँडिएर ज्यानमाथि खस्दा रौतहटमा एक किसानको मृत्यु भएको छ।

शनिबार मध्याह्न खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको करेन्ट लागेर मृत्यु भएको हो।
खेत जोतिरहेका उनीमाथि ११ के.भी लाइनको बिजुलीको तार चुँडिएर खस्दा उनीसहित एउटा गोरूको पनि मृत्यु भएको हो। अर्को गोरू भने ज्यान बँचाएर भागेको छ।

मध्याह्न खेतमै मृत्यु भएको बैजुको शव स्थानीयको विरोधका कारण साँझसम्म उठ्न सकेको थिएन।

घटनापछि पण्डितको परिवार र स्थानीयले विद्युत् प्राधिकरणको कमजोरीका कारण बिजुलीको तार चुँडिएको भन्दै शव उठाउन दिएका थिएनन्।
उनीहरूले स्थानीय प्रशासन र विद्युत् प्राधिकरणका सम्बन्धित व्यक्तिहरू नआएसम्म शव उठाउन नदिने भनेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र विद्युत् प्राधिकरणका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए।

प्रजिअसहित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफलपश्चात पाँच घन्टापछि स्थानीयले मृतक वैजुको शव उठाउन दिएका छन्।
प्रजिअ धर्मेन्द्र कुमार मिश्रका अनुसार प्राधिकरणले नियम अनुसारको क्षतिपूर्ति रकम बैजुको परिवारलाई उपलब्ध गराउने सहमतिमा शव उठाएर मुचुल्का गरिएको छ।

अहिले घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रजिअ मिश्रले जानकारी दिए।

प्रजिअ मिश्रले घटनाबारे गम्भीर ढंगले अनुसन्धान हुने र पीडित परिवारलाई नियमसम्मत क्षतिपूर्ति उपलब्ध गराउने बताए।

उनले तत्कालका लागि परिवारलाई पछि प्राप्त हुने रकममा कट्टा हुनेगरी किरिया खर्च वापत् १५ हजार रूपैयाँ उपलब्ध गराउने सहमति भएको पनि जानकारी दिए।

घटनास्थल हेर्दा मानवीय त्रुटीका कारण बिजुलीको तार चुँडिएको नदेखिएको पनि उनले बताए। यस सम्बन्धमा विद्युत् प्राधिकरणसँग सोधपुछ हुने र तार चुँडिनुको कारण खोज्ने पनि उनले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖